कैलाली : सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि बैठक स्थगित भएको बताइएको छ। मुख्यमन्त्री रावलको पद समेत सङ्कटमा परेको छ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ। बुधवार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक बिहीवार दिउँसो १ बजेका लागि सारिएको छ।
मंगलवार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेसम चौधरीलाई कारागारमै पुगेर भेट गरेका थिए। उक्त भेटमा सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिनेबारे छलफल भएको हो। नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दल सचेतक लक्ष्मण किशोर चौधरीले सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने बताए।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पुर्याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ। त्यसपछि १९ सदस्यसहित पहिलो दल रहेको नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।