PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रतिबन्धित भारुसहित विमानस्थलबाट भारतीय र अमेरिकी नागरिक समातिए, विमानस्थलको क्यान्टिनमा नै लेनदेन



पहिलोपोस्ट

प्रतिबन्धित भारुसहित विमानस्थलबाट भारतीय र अमेरिकी नागरिक समातिए, विमानस्थलको क्यान्टिनमा नै लेनदेन

काठमाडौं : नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दिन कामरूद्दिन अन्सारी र सुनसरी इनरुवा नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले भारतीय रूपैयाँ लेनदेन गरी कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

यसैगरी, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ५६ थान गरी जम्मा २ लाख २८ हजारसहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell