वीरगंज : वीरगंजमा बुधवारदेखि प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ। सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको बुधवार एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे।
प्रतियोगिताको उद्घाटन गर्दै महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए।
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगंज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता सुरु भएको हो। २८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेश र प्रदेश १ सुनसरीबिच प्रतिष्पर्धा भइरहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।