काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको क्लब फ्रेन्ड्स क्लबले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई अनुबन्धित गरेको छ। कुपण्डोलको क्लब फ्रेण्डले आज सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई अनुबन्धन गरेको जनाएको हो।
अघिल्लो सिजन क्लबको मुख्य प्रशिक्षकमा मृगेन्द्र मिश्र थिए। श्रेष्ठ भने थ्री स्टार क्लबको प्रशिक्षक थिए।
त्यस्तै खेलाडीतर्फ पनि फ्रेन्ड्स क्लबले धमाधम अनुबन्धन गरिरहेको छ। राजेश परियारलाई भित्र्याउँदै अनुबन्धन सुरु गरेको फ्रेण्ड्सले विशाल सुनार, अशिम भुषाल, रुपेश केसी, डोना थापा, आरोन थापा, प्रेम भण्डारी, अमित तामाङ, श्याम बावु क्याप्छाकीलगायतका खेलाडी अनुबन्धन गरिसकेको छ।
ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। डबल राउण्ड रोबिनका आधारमा हुने खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्समा हुनेछन्। लिगमा प्रथम हुने क्लबले ७५ लाख, दोस्रो हुनेले ५० लाख तथा तेस्रो हुनेले २५ लाख प्राप्त गर्नेछन्। लिगको अनुमानित लागत १२ करोड रहेको छ।
फ्रेन्डस् क्लबले प्रतियोगिताको उद्घाटन खेलमै नवप्रवेशी खुमलटार एफसीसँग प्रतिस्पर्धा गर्नेछ।