PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

वाग्मती सरकारले प्रदेशका ७ अस्पताललाई दियो एम्बुलेन्स



पहिलोपोस्ट

वाग्मती सरकारले प्रदेशका ७ अस्पताललाई दियो एम्बुलेन्स

हेटौंडा : वाग्मती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधवार वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई (ख) वर्गको एम्बुलेन्स अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे।

५२ लाख ९० हजार रुपैयाँका दरले टेण्डर मार्फत खरिद गरिएको सात वटा एम्बुलेन्स बुधवार हस्तान्तरण गरिएको हो। सात वटा एम्बुलेन्सको कुल लागत ३ करोड ७० लाख रुपैयाँ रहेको छ। खरिद गरिसकिएको एउटा एम्बुलेन्स भने केही दिनमा हस्तान्तरण गरिने भएको छ।

हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए। उनले स्वास्थ्यमा गरिबि, लोपुन्मुख, सिमान्तकृत जनताहरुको पहुँच पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिए।

एम्बुलेन्समा बिरामीसहित २ जना कुरुवा, स्वास्थ्यकर्मी बस्ने सुविधादेखि अत्यधुनिक सुविधाअन्तर्गत डेलिभरी सेट, ड्रेसिङ सेट, वासिङ ईक्युपमेन्ट, टु वे भिडियो कन्भरसेसन डिभाइस, मोबाइल डिभाइस, फोरजी कनेक्टेभिटी डिभाइस, वाकीटकी, क्यामेरा, जीपीएस सिस्टमसमेत जडान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell