PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुग्ध पाउडर प्लान्ट बनाइसक्न निर्माण कम्पनीलाई वाग्मती सरकारले दियो बैशाखसम्मको समय



निशा गुरुङ

दुग्ध पाउडर प्लान्ट बनाइसक्न निर्माण कम्पनीलाई वाग्मती सरकारले दियो बैशाखसम्मको समय

हेटौंडा : वाग्मती प्रदेश सरकारले दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन सम्पन्न गर्न निर्माण कम्पनीलाई बैशाखसम्मको अन्तिम म्याद दिएको छ। दुई पटकसम्म म्याद थपिएको उक्त दुग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले बैशाखसम्मको समय दिएको हो।

गत आर्थिक वर्ष २०७७/७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फ्रा प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालेपनि कोभिडको कारण देखाउँदै दुई पटकसम्म म्याद थप गरेको थियो।

वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले २०७७ पुस १६ मा निर्माण सुरु गरिएको उत्त दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन शिलान्याश गरेका थिए। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण सुरु गरिएको थियो।

एक वर्षमै सम्पन्न गर्ने भनिएपनि पटक-पटक म्याद थप गरेको निर्माण कम्पनीलाई बैशाखसम्मको अन्तिम म्याद दिइएको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबलदेभ सापकोटाले जानकारी दिए। उनका अनुसार निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको र रंगरोगन गर्ने काम मात्रै बाँकी रहेको बताए।

‘सबै मेशिनहरु फिट भइसकेको छ। अब रंगरोगन मात्रै बाँकी रहेको हुँदा कम्पनीलाई हामीले बैशाखसम्म उक्त भवनको हस्तारण गर्ने अन्तिम म्याद दिएको हुँदा अब छिट्टै काम सुरु हुन्छ’, उनले भने, ‘बैशाख अन्तिमसम्म प्लान्ट र भवन निर्माण कम्पनीले हस्तारण नगरे कम्पनीलाई कारबाही गर्नेछौँ।’

प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउने बताइएको छ। अब कम्पनीले म्याद थप मागे कुनै पनि हालतमा म्याद नथपिने उपाध्यक्ष सापकोटाले बताए।

उपाध्यक्ष सापकोटाले हाल वाग्मती प्रदेशमा दुध उत्पादन पनि घट्दै गएको बताए। उनका अनुसार प्रदेशमा दैनिक ८ लाख लिटर दुध उत्पादन हुने हुँदा पाउडर दुध बनाउन समस्या हुने समेत गुनासो गरे। वाग्मती प्रदेशमा १३ वटै जिल्लामध्ये सबैभन्दा धेरै दुध उत्पादन चितवन, काभ्रे र मकवानपुरमा हुने उनले जानकारी दिए।

उनले हाल पशुपालनमा कमी आएको हुँदा प्रदेश सरकारले पनि किसानहरुलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरु दिनुपर्ने बताए। त्यसोगरेमा किसानले धेरै गाई, भैँसीपालन गरेर रोजगारी पनि सिर्जना हुने निश्चित रहेको उनले बताए।

सो प्लान्टबाट वाग्मती प्रदेशसहित प्रदेश नम्बर २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषकको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ।

कम्पनीले ४५ करोड १२ लाख ७० हजार रुपैयाँ लागत अनुमान गरिएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell