वीरगंज : सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको १३ नम्बर गण पर्साको टोली मातहतको वीरगंज भन्सार गुल्मले बुधवार बिहान साढे ९ बजे स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।
वीरगंज भन्सारको मुख्यद्वारमा नियमित चेकजाँच गरिरहेको अवस्थामा रक्सौलबाट वीरगंज प्रवेश गर्नेक्रममा बिआर०५ एटि ५९६७ र बिआर०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुबै जनाले हेल्मेटमा लुकाएर ल्याउनेक्रममा प्रहरीको सो रकम फेला पारेको हो।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।