PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

अमेरिकाले नेपाललाई गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम छैन : सामन्था पावर



पहिलोपोस्ट

अमेरिकाले नेपाललाई गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम छैन : सामन्था पावर

काठमाडौं : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले अमेरिकाले नेपाललाई गर्ने सहयोग प्राथमिकतामा रहेको बताएकी छिन्। दुई दिने नेपाल भ्रमणको अन्तिम दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरेकी हुन्।

उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम नरहेको समेत बताइन्।

सो अवसरमा प्रशासक पावरले नेपाल भ्रमणको क्रममा भएको विभिन्न उच्चस्तरीय भेटवार्ताका क्रममा भएका विषयबारे जानकारी गराएकी थिइन्।

उनले भ्रमणका क्रममा मंगलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी थिइन्। उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।

नेपालमा हालै सम्पन्न आमनिर्वाचनसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको र यस कार्यमा अमेरिकाको साझेदारी रहने उनले उल्लेख गरिन्।

युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरि नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू बलियो पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने विश्वास लिइएको छ। मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell