काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि आधारित सर्ट फिल्म ‘ब्लु फ्लावर’को प्रिमियर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय ‘एलजीबीटीक्यूआई प्लस’को कथा समेट्ने सर्ट फिल्म देखाइएको हो।
प्रिमियरमा मुख्य अतिथिका रुपमा पुगेका सभामुख देवराज घिमिरे लगायतले फिल्मबारे सकरात्मक प्रतिक्रिया दिए। घिमिरले यस फिल्मको कथा पुरानो भएपनि अहिलेको समाजसँग मिल्ने बताए।
‘हामीले समाजलाई सही मार्ग देखाउनको लागि समाजको वास्तविकतालाई बुझ्नुपर्छ। जबरजस्ती प्रकृतिको विरुद्धमा जाने कुराहरु बेठिक हुन्छन् भन्ने यस फिल्मले देखाएको छ,’ उनले भने।
उनका अनुसार संविधानमा एलजीबीटीक्यूआई समुदायको बारेमा व्यवस्था गरेको छ। तर, सम्बन्धित समुदायको समस्या र समाधानबारे नीतिनियम, कानुन र ऐनहरु नहुँदा खासै व्यवहारमा लागू हुन सकेको छैन।
सर्ट फिल्म ‘ब्लु फ्लावर’ गाउँले परिवेशमा हुर्किएका एक समलिङ्गी पुरुषको कथा हो। तीलक नामका पात्रले परिवारको जबरजस्तीमा गर्नुपरेको बिहे, बिहेपछि भोग्नुपरेको समस्या र असरबारे कथालाई फिल्मले समेटेको छ।
सुनीलबाबु पन्त र प्रधुम्न मिश्रको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा सागर घिमिरे मुख्य पात्रको भूमिकामा छन। त्यसैगरि, फिल्ममा उर्मिला कार्की, कुल बहादुर अधिकारी, विमला गिरी, घनश्याम जोशी, सरस्वती अधिकारी, सुबिन मगर र सरिशा मगरको अभिनय छ।
त्यसैगरि, फिल्ममा पन्तको नै कथा र लगानी रहेको छ। सत्यघटनामा आधारित यो कथा २० वर्ष अघिको भएपनि अहिले पनि सान्दर्भिक रहेको पन्तको भनाइ छ। साथै, उनले यो फिल्म कुनै पनि सरकारी निकायले देखाउन चाहेको खण्डमा निःशुल्क उपलब्ध गराउने समेत जानकारी दिए।