PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, राष्ट्रपति एर्दोगानले स्वीकारे उद्धारमा सरकारको कमजोरी



पहिलोपोस्ट

भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, राष्ट्रपति एर्दोगानले स्वीकारे उद्धारमा सरकारको कमजोरी
Photo: REUTERS

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा आफ्नो सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्। राष्ट्रपति एर्दोगानले प्रकोपको लागि तयारी गर्न असम्भव भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

टर्कीए र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ। आलोचकहरूले आपतकालीन सेवाहरूको प्रतिक्रिया धेरै ढिलो रहेको र सरकार कमजोर रूपमा तयार रहेको दाबी गरेका छन्।

राष्ट्रपति एर्दोगानले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गर्दै हाल स्थिति ‘नियन्त्रणमा’ रहेको बताए। तर, टर्कीएको प्रमुख विपक्षी दलका नेता केमाल किलिचदारोग्लु भने राष्ट्रपतिको उक्त भनाइमा सहमत छैनन्।

‘यदि यसमा कोही जिम्मेवार छ भने, त्यो व्यक्ति एर्दोगान हो,’ उनले भने।

राष्ट्रपति एर्दोगानले आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक भएको बताए। भने, ‘यस्तो अवस्थामा राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने मानिसहरुको मलाई वास्ता छैन।’

छिमेकी राष्ट्र सिरियामा वर्षौंको द्वन्द्वले देशको पूर्वाधारलाई ध्वस्त पारेको कारण राहत प्रयासमा जटिलता थपेको छ। टर्कीए र सिरियाबिचको बाब अल-हवा क्रसिङ भूकम्पपछि सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले बन्द गरिएको छ।

संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले सडक छिट्टै पहुँचयोग्य हुन सक्ने बताए। टर्कीएका विदेशमन्त्री मेभलुत काभुसोग्लुले पनि यसको पुष्टि र्दै सिरियामा सहायता पुर्‍याउन थप दुईवटा सीमानाकाहरू खोल्ने काम भइरहेको बताए।

युरोपेली संघ (ईयू)ले सिरियालाई सहायताको लागि ३५ लाख युरो सहयोग पठाउनेछ बताएको छ। तर, उक्त सहायता सरकारी र विद्रोही-नियन्त्रित दुवै क्षेत्रहरूमा पुर्‍याउनु पर्ने बताइएको छ।

इडलिब प्रान्तमा मात्रै १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सिरियाली राष्ट्रपति बशर अल-असदका सल्लाहकारले प्रतिबन्धहरूका कारण सिरिया आवश्यक सहायता प्राप्त गर्नबाट बञ्चित भएको बताए।

‘हामीसँग पर्याप्त बुलडोजर छैन, पर्याप्त क्रेन छैन, हामीसँग युरोपेली र अमेरिकी प्रतिबन्धका कारण पर्याप्त तेल पनि छैन,’ बुथैना शब्बानले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell