काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ। साथै, उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ।
माओवादी केन्द्रले बुधवार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ। यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए। पूर्व सभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन्।
उपमहासचिवमा यसअघि भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए। भुसालको भने बढुवा भएको हो।
त्यसैगरी, सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्। कोषाध्यक्षमा श्रीराम ढकाल छन्।
अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन्।