काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को माघ दोस्रो साता पोखरामा बसेको बैठकले बलात्कारको मुद्दा खेपिरहेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गर्यो। लगत्तै लामिछाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भए।
क्यानले सामाजिक सञ्जालमार्फत सन्दीपको तस्बिरहरु सार्वजनिक गर्यो 'हिरोइक' शैलीमा। क्यानले राखेको ३९ वटा तस्बिरमा धेरैजसो लामिछानेमाथि केन्द्रीत छन्। क्यानले बलात्कार अभियुक्तलाई बन्द प्रशिक्षणमा सहभागी गराएकोमा विरोध भइरहँदा क्यानले उनै अभियुक्तलाई नै प्रश्रय दिइरहेको देखिन्छ। क्यानले सन्दीपलाई 'हिरो' बनाउन खोज्दा नेपाली सामाजिक संजाल प्रयोगकर्ताले भने '#BoycottCAN' अभियान नै संचालन गरे।
क्यानविरुद्ध माइतीघरमा अभियन्ताहरुले लामिछानेलाई राष्ट्रिय टोलीमा सहभागी गराएको भन्दै प्रदर्शन पनि गरे। ‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका 'प्ले कार्ड' बोकेर मानिसहरु प्रदर्शनमा उत्रिएका थिए।
नाबालिग बलात्कारको मुद्दा लागेपछि क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा लामिछाने पुनः जेल बस्नु पर्ने हुन्छ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
माघ १३ गते क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाउँदा लामिछानेलाई भने बोलाएको थिएन। तर अहिले जमानतमा रिहा भएपछि भने क्यानले सन्दीपलाई टिममा बोलायो।
एकातिर लामिछाने क्यानको आडमा कीर्तिपुरमा प्रशिक्षणरत् छन् भने अर्कातिर महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई पुन थुनामा राखेर पूर्पक्ष माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएको छ। यस्तो संवेदनशिल मुद्दामा क्यान लाचार भएर प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ। र, अन्तर्राष्ट्रियस्तरमा नै यो मुद्दा उठेको छ।
के भन्छन् सिरिज खेल्न आउने देशहरु?
नेपालले फेब्रअरी १४ बाट घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। पक्राउ परेयता लामिछाने पहिलो पटक टोलीमा फर्किएका छन्। भलै क्यानले अन्तिम टोली घोषणा गर्न बाँकी नै छ। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'इएसपीएनक्रिक इन्फो'ले १४ जना खेलाडीको नाम दर्ता गर्न पठाएको सूचीमा लामिछानेको नाम पनि रहेको दाबी गरेको छ।
यस्तोमा नेपाल आउने टोलीहरुले पनि प्रतिक्रिया दिएका छन्। स्कटल्याण्डको क्रिकेट टोलीले आफूहरु सन्दीपको कानुनी अवस्थाबारे जानकार भएको बताएको छ।
'क्रिकेट स्कटल्याण्डले आगामी आइसिसी क्रिकेट विश्वकप लिग २ छनोटअघि नेपालका सन्दीप लामिछानेको कानुनी अवस्थाबारे आएको रिपोर्टबारे सचेत रहेको छ,' क्रिकेट स्टकल्याण्डले भनेको छ, ' एक प्रशासक निकायको रूपमा र एक टोलीको रूपमा क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन।'
लामिछानेको उपलब्धता क्यान र आईसीसीले विचार गर्नुपर्ने विषय भएको भन्दै स्कटल्याण्डले अगाडि भनेको छ : खेलाडीको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो।
अर्कोतर्फ क्रिकेट नामिबियाले लैङगिक हिंसा र दुर्व्यवाहारको विरोध गर्ने जनाएको छ।
'क्रिकेट नामिबियाले सबै प्रकारका लैङ्गिक हिंसा, भेदभाव र दुर्व्यवहारको कडा विरोध गर्दछ,' नामिबिया क्रिकेट बोर्डले भनेको छ।'
केहीदिन नेपाल आएका पाकिस्तानी खेलाडी मोहम्मद रिजवानले सन्दीपलाई भेटेका थिए। उनले सन्दीपलाई भेटेको तस्विर सार्वजनि भएपछि रिजवानको पनि चर्को आलोचना भएको थियो। पछिल्लो समय अस्ट्रेलियाले अफगानिस्तानसँग त्यहाँको महिलाहरुको अवस्थालाई देखाउनै खेल्न अस्वीकार गरेको घटना पनि क्रिकेट वृत्तमा धेरै भएको छैन।