PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रपतिमा सहमति जुटाउन सत्तारुढ दलको गृहकार्य, बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक



पहिलोपोस्ट

राष्ट्रपतिमा सहमति जुटाउन सत्तारुढ दलको गृहकार्य, बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक
फाइल फोटो

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बुधवार ओली निवास बालकोटमा भएको भेटमा बिहीवार बैठक बोलाउने समझदारी बनेको थियो। तर बिहीवार बिहानसम्म बैठक बोलाउने/नबोलाउने अन्योल भए पनि दिउँसो भने बैठकको समय तय भएको हो।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजे बैठक बोलाइएको बताए। माघ १९ गते बसेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउन माग गरेका थियो। तर त्यतिबेला संयन्त्रको बैठक बस्न प्रधानमन्त्री दाहालले अस्वीकार गरे। रास्वपा सरकारबाट बाहिरिसकेको छ। राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनायो। पुस १५ गते बसेको सत्ता गठबन्धनको बैठकले ओलीको संयोजकत्वमा हरेक दलबाट एक/एक जना सदस्य रहनेगरी उच्चस्तरीय संयन्त्र गठन गरेको थियो।

एमालेले रास्वपालाई नै गृह मन्त्रालय दिएर सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए पनि प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि गठबन्धनमा खटपट सुरु भएको छ। माघ १३ गतेको सर्वोच्चको फैसलापछि रास्वपाका सभापति रवि लामिछानेले सांसद र मन्त्री पद गुमाएका छन्। त्यसयता गठबन्धनमा पनि समस्या देखिएको हो। माओवादी केन्द्रको केही दिनअघि सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते मनोनयनको समय तोकेको छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार विजयी हुने दाबी गर्दै आएको छ। राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्छन् या एमालेको भन्नेले राष्ट्रपति को बन्ने भन्ने निर्धारण हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell