PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

बैतडीको पाटनमा १० महिनादेखि हवाई सेवा बन्द



पहिलोपोस्ट

बैतडीको पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

काठमाडौं : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ। धनगढी-बैतडी-धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो।

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ। ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर संचालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो। गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो। हवाई सेवा पुनः संचालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए। आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ। हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए। भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो। पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसंचालनमा आएको थियो। विसं २०३६ देखि संचालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell