
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको चयन हुने बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा राष्ट्रपति हुने व्यक्तिमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिएका हुन्।
प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले मुख्यगरी २ कारणले राष्ट्रिय सहमति जुट्ने व्यक्ति नै राष्ट्रपति हुने बताए। 'विगतको तितो अनुभवका कारण तथा २०६४ मा राष्ट्रपतिका कारण भएको दुर्घटनाहरु पनि छन्। पछिल्लो संसद विघटनको कारण पनि। यी गल्तीबाट पाठ सिक्ने एउटा र अहिले विश्वासको वातावरण बनेको छ। त्यसको पनि सम्बोधन गर्नुपर्ने हुन्छ। सहमतिकै पात्र अघि सार्दा उपयुक्त हुन्छ भन्नुभयो,' प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।
संविधानको पक्षमा उभिने मान्छे नै अहिलेको राष्ट्रपति हुने प्रचण्डले बताएका छन्। संक्रमणकालीन न्यायको पक्षमा र संसदमा सहमति हुनसक्ने व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार हुने प्रचण्डको भनाइ छ।