PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नशाले लठ्ठिएका पुरुषको पैसाका लागि हत्या, सिसिटिभीको 'क्लू'ले प्रहरी अनुसन्धानलाई अभियुक्तसम्म डोहोर्‍यायो



सविन ढकाल

नशाले लठ्ठिएका पुरुषको पैसाका लागि हत्या, सिसिटिभीको 'क्लू'ले प्रहरी अनुसन्धानलाई अभियुक्तसम्म डोहोर्‍यायो

काठमाडौं : गत मंगलबार (माघ २४ गते) काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित रुद्र नगर शान्ति मार्ग स्थित सडकमा एक मानिसको शव फेला पर्छ। बिहान ६ बजेर ४० मिनेटमा प्रहरीलाई शव भेटिएको भन्दै स्थानीयले फोन गरेका हुन्छन्।

काठमाडौं जस्तो सुरक्षा संवेदनशिल ठाउँमा शव भेटिएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुग्छ। शवको सनाखत सुरु हुन्छ। एक अन्दाजी ५०/५५ वर्षको मानिसको शव भएको प्रहरी अनुसन्धानमा खुल्छ। घटनाको प्रारम्भिक अवस्था हेर्दा शरीरमा चोट लागेर मृत्यु भएको देखिन्थ्यो। प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिन्छ। तर कसले हत्या गर्‍यो भन्ने कुरा परै कै कुरा थियो। मृतक समेत को हो भन्ने खुल्दैन। मृतको शरीर 'चेक' गर्दा कुनै सनाखत हुने कागजपत्र भेटिएको हुँदैन।

'हामीलाई सुरुमा त शवको सनाखत गर्न नै ग्राहो भएको थियो। त्यसपछि बाँकीको अनुसन्धान पाटो चुनौतीपूर्ण थियो,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।

प्रहरीले घटनाको अनुसन्धान थालिसकेको हुन्छ। घटनास्थल वरपर जडान भएका सिसि क्यामरा फुटेजको अध्ययन सुरु हुन्छ। नभन्दै घटनाको केही दृश्य सिसि क्यामरामा कैद भएको भेटिन्छ। अघिल्लो दिन सोमबार राति साढे ९ बजेतिर घटना भएको देखिन्छ।

एक युवकले एक मानिसलाई आफ्नो पिठ्युँमा बोकेर ल्याएको सिसिटिभीमा देखिन्छ। त्यसपछि युवकले अर्का व्यक्तिलाई कुटपिट गर्न थाल्छन्। भित्तामा ठोकाउने, अनुहारमा लात्तीले हान्ने लगायत कुटपिट गर्न थाल्छन्। त्यतिकैमा ती युवकले त्यो मानिसको शरीर खोजतलास गर्ने र गोजीबाट रकम झिकेको जस्तो देखिन्छ।

सिसि क्यामरा फुटेज हेरेपछि प्रहरी हत्या भएको निष्कर्षमा पुग्छ। अनि हत्या अनुसन्धानलाई 'न्यारोडाउन' गर्ने क्रममा सिसि क्यामरामा देखिएका व्यक्ति पर्छन्। 'हुडि' लगाएको ती युवकको खोजीमा प्रहरी लाग्छ। नभन्दै २४ घण्टा नबित्दै प्रहरीले ती युवकलाई पक्राउ गर्न सफल हुन्छ। अभियुक्तको रुपमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ घर भएका ३२ वर्षीय रामबहादुर थापा समातिन्छन्।

त्यसपछि मृतक व्यक्तिको पनि सनाखत गर्न प्रहरी सफल हुन्छ। रामबहादुरले हत्या गरेर लुटेर लगेको फोनमा रहेको सिमको आधारमा मृतकको पहिचान खुल्छ। उनी पर्साको वीरगंज घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने ५७ वर्षीय ध्रुवबहादुर खड्का भएको खुल्छ।

'अभियुक्तले पनि हत्या गरेको व्यक्तिलाई चिनेको हुँदैन। त्यसैले उनले चोरी गरेको मोबाइलमा भएको सिमको आधारमा पहिचान गरेका हौँ,' एसएसपी कार्कीले भने।

नशा लठ्ठिएका व्यक्तिलाई लुट्ने योजना, आफ्नो परिचय खुल्ने डरमा हत्या

माघ २३ गते राति करिब ९ बजेतिर धुव्रबहादुर खड्का पार्टीबाट निस्किएर काठमाडौंको बतिसपुतली सडक नजिकै बसिरहेका हुन्छ। कोट लगाएर नशाले झुमिएका खड्का माथि रामबहादुरको नजर पर्छ। नशामा लठ्ठिएको, राम्रो पहिरन लगाएको मानिससँग पक्कै धेरै रकम वा सुनचाँदी होला भन्ने आशामा तत्कालै लुट्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। त्यसपछि उनले लुट्नको लागि परिपञ्च रच्न थाल्छन्।

तत्कालै एउटा ट्याक्सी बोलाउँछन्। त्यसपछि बतिसपुतलीबाट राखेर रुद्र नगर शान्ति मार्ग पुर्‍याउँछन्। त्यसपछि उनले ट्याक्सीलाई पठाएको देखिन्छ। त्यहाँ पुगेपछि उनले शरीरमा भएका धनमाल लिन्छन्। त्यसरी लगेपछि आफूलाई चिन्ने डरले हत्या गरेको देखिन्छ।

'आफूलाई चिन्ने डर भएपछि हत्या गरेको प्रारम्भिक रुपमा देखिएको छ। थप अनुसन्धानमा खुल्छ,' एसएसपी कार्कीले भने।

हत्या गरेपछि उनी त्यहाँबाट निस्किन्छन्। तर, फेरि मध्यरातमा उनी घटनास्थल पुग्छन्। मानिस मर्‍यो कि मरेन भन्ने 'चेक' गर्न त्यहाँ पुगेको बयान उनले दिएका छन्। दोस्रो पटक घटनास्थल पुग्दा उनी साइकल लिएर पुगेका थिए। रामबहादुर साइकल लिएर हिँड्ने र लागूऔषध कारोबार गर्ने र सेवन गर्ने गरेको खुलेको छ। उनी लामो समयदेखि काठमाडौंमा सो कारोबार गर्दै आएका थिए। २०७७ सालमा पनि उनीविरुद्ध काठमाडौं प्रहरीले लागूऔषधमा मुद्दा चलाएको थियो।

घटना भएपछि प्रहरीलाई झुकाउन चोरी गरेका समान देखि लुगाहरू विभिन्न स्थानमा फ्याँकेको खुलेको छ। प्रहरीले रामबहादुरले प्रयोग गर्ने मोबाइलको सिम, कालो रङ्गको पर्स काठमाडौंको धुम्बराहीमा फ्यालेको अवस्थामा फेला पारेको छ।

मृतक रामबहादुर भने राष्ट्रिय बिमा संस्थानका पूर्व कर्मचारी हुन्। दुई वर्ष अगाडी मात्र उनले जागिर छोडेका थिए। पक्राउ परेका अभियुक्त विरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ज्यान मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell