
हेटौंडा: माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता जनाउने भएको छन्। आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत वर्ष झैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने जनाएको हो।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ।
आयोजक संघका अध्यक्ष टीकाराम लामाका अनुसार विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
शनिवारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गते नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ।