
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नामिबिया र स्कटल्याण्डसँगको सिरिजका लागि नेपालको अन्तिम १४ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा निलम्बनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेले पुनरागमन गरेका छन्। बलात्कार मुद्दामा अभियुक्त रहेका सन्दीपलाई अभ्यासमा बोलाए पछि आलोचना भइरहँदा उनलाई टिममा नै सहभागी गराइएको हो।
माघ दोस्रो साता पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
नाबालिक बलात्कारको मुद्दा लागेपछि क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा लामिछाने पुनः जेल बस्नु पर्ने हुन्छ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
लामिछानेलाई क्यानले अभ्यासमा बोलाएपछि सामाजिक सञ्जालमा क्यानको चर्को आलोचनासमेत भएको थियो। क्यानविरुद्ध माइतीघरमा अभियन्ताहरुले लामिछानेलाई राष्ट्रिय टोलीमा सहभागी गराएको भन्दै प्रदर्शन पनि गरेका थिए। ‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका 'प्ले कार्ड' बोकेर मानिसहरु प्रदर्शनमा उत्रिएका थिए।
क्यानलाई बहिष्कार गर्ने अभियान नै चलेको थियो। आलोचना र विरोधबिच क्यानले सन्दीपलाई टिममा राखेको हो।
कोको छन् १४ सदस्यीय टोलीमा?
१४ सदस्यीय टोलीमा सूर्य तामाङले पहिलो पटक स्थान बनाउँदा भीम सार्की, सुन्दीप जोरा र कुशल मल्लले पुनरागमन गरेका छन्। नियमित सदस्य आरिफ शेख, अर्जुन साउदलगायत प्रतिश जिसी र मौसन ढकाल भने रिजर्भमा छन्।
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलसन झा, भीम सार्की, सूर्य तामाङ