.jpg)
काठमाडौं : संघीय संसदमा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बिहीवार बसेको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने सहमति भएको हो।
बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले कक्ष र ‘लबी रिपोर्टिङ’ को विश्वव्यापी अभ्यासलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव गरेका थिए।
सोही बैठकमा समितिका सदस्य सांसद रमेश लेखकले फरार सांसद पनि निलम्बन हुने व्यवस्था नियमावलीमा गरि सुविधा नपाउने स्पष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए। सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दलसम्बन्धी स्पष्ट व्यवस्था नियमावलीमा गर्न माग गरेका थिए।
बैठकमा समितिको अध्यक्षता गरेका ज्येष्ठ सदस्य चित्रबहादुर केसी, समिति सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हितराज पाण्डे, विद्या भट्टराई, अमरेशकुमार सिंह, सोविता गौतम, नगिना यादवलगायतले फरार, थुनुवा र कैदीका विषयमा समय लम्ब्याएर भए पनि स्पष्ट व्यवस्था नियमावलीमा गरिनुपर्नेमा जोड दिएका थिए। समय थप गरेर भए पनि नियमावलीमा सबै कुरा स्पष्ट गरिनुपर्नेमा सबै सांसदको सहमति रहेको छ।
समितिको अर्को बैठक शुक्रबार बिहान १०ः३० बजे पुनः बस्ने सभापति केसीले जानकारी दिए।