काठमाडौं : नेपाल दूरसंचार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। शुक्रवार एक सूचना जारी गर्दै प्राधिकरणले प्रभु डिजिटल लिमिटेड र एलएनटी इन्फोटेक प्रालिको लाइसेन्स खारेज गरेको जनाएको छ।
प्रभु डिजिटल काठमाडौं र एलएनटी इन्फोटेक कास्कीको कम्पनी हो। दुवै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले दूरसंचार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वत: खारेज भएको जानकारी दिएको छ।
प्राधिकरणले सूचना जारी भएको मितिले ३० दिन भित्र प्रभु डिजिटल र एलएनटी इन्फोटेकलाई तिर्न तथा बुझाउन बाँकी रकमबारे कार्यालयमा सम्पर्क गर्न समेत ताकेता गरेको छ। अन्यथा प्रचिलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी प्राधिकरणको छ।