काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसद र सरकारलाई जनताका लागि गर्नुपर्ने विभिन्न विषयमा आफ्नो राय व्यक्त गरेकी छिन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो दुई कार्यकालको अनुभवमा पाएको अनुभवको आधारमा आफ्नो राय राखेको बताएकी छिन्।
राष्ट्रपति भण्डारीले अबको ध्यान नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझावसमेत सम्बोधनमा राखेकी छिन्। 'करिब सात वर्ष लामो मेरो कार्यकालमा मैले हासिल गरेको अनुभवसमेतका आधारमा देश र जनताका लागि सङ्घीय संसद र सरकारले गर्नुपर्ने केही विषयहरू राख्न चाहन्छु।देशको राजनीतिले एउटा लय र गति समातिसकेकोले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु,' राष्ट्रपति भण्डारीले भनिन्।
यो अवधिमा प्रगति भए पनि यसको गतिमाथि भने उनले प्रश्न गरिन्। 'निश्चय पनि यसबीचमा देशको आर्थिक-सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएका छन्। विकास निर्माणले गति लिएको छ। तर यो गति पर्याप्त छ त?' संसदलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'हामीले हरेक नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ त? यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्दछ।'
उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ।’
कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उनले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।
राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेशिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताइन्। उनले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिइन्।
राष्ट्रपतिको सम्बोधनको पूर्णपाठ