
काठमाडौं : नगर प्याब्सन कीर्तिपुरले आयोजना गरेको कथालेखन प्रतियोगितामा ल्याबरेटरी सेकेन्डी स्कुलकी विनुषा सिलवाल पहिलो भएकी छिन्। कक्षा ९ की सिलवालले लेखेको 'महत्व' शीर्षकको कथा पहिलो भएको निर्णयक समितिले घोषणा गरेको थियो।
प्रतियोगितामा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकी श्रीया थापा दोस्रो र उज्वल शिशु निकेतनकी सुविधा अधिकारी तेस्रो भइन्। कक्षा ९ की श्रीयाको बेग्लै संसार शीर्षकको कथा थियो भने सुविधाको कथाको शीर्षक इच्छा र आकंक्षा।
शुक्रवार नगर प्याब्सनले कीर्तिपुरको पुष्पसदन आवासीय माविमा आयोजना गरेको कीर्तिपुर नगर प्याब्सनस्तरीय अन्तर्विद्यालय खुल्ला नेपाली कथा लेखन प्रतियोगताका विजयीलाई प्रमुख अतिथिसमेत रहेका नगरपालिकाका शिक्षा प्रमुख टंकलाल गैरेले प्रमाणपत्र तथा अवार्ड प्रदान गरे। प्रतियोगितामा कीर्तिपुर नगरपालिकाभरका ११ विद्यालयका २२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। पौने ३ घण्टा समयअवधिमा लेखिएका २२ विद्यार्थीका २२ कथाका निर्णायकमा वरिष्ठ बालसाहित्य सर्जक प्रमोद प्रधान र पत्रकार एवं बाल साहित्यसर्जन नेत्र तामाङ थिए। कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंका सचिव सुदर्शन थापा, शाखा प्रमुख गैरे, कीर्तिपुर प्याबसनका अध्यक्ष रवि भण्डारीलगायतले विद्यार्थीहरुलाई कथा लेखनका लागि हौसला तथा प्रेरणा प्रदान गरेका थिए।