PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

युरोपेली संसदभित्रका 'बागी': जसले नाटो खारेजीको माग गर्छन्, अमेरिकाको कटु आलोचना, चीन र रुसको भने समर्थन



विधुर ढकाल

युरोपेली संसदभित्रका 'बागी': जसले नाटो खारेजीको माग गर्छन्, अमेरिकाको कटु आलोचना, चीन र रुसको भने समर्थन
मिक वालेस। फोटो : extra.ie

'अध्यक्ष महोदय, जेलेन्स्की (युक्रेनका राष्ट्रपति)ले १२ विपक्षी दलहरु माथि प्रतिबन्ध लगाएका छन्। र युद्धको प्रयोग गरी लोकतान्त्र विरोधी श्रम सुधारहरू गरिरहेका छन्। यस कानुनको विरोध विश्वभरका २० करोडभन्दा बढी कामदारहरूलाई एकताबद्ध गर्ने अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन गरिरहेको छ। महासचिव शरण बुरोले एक विज्ञप्तिमा भनेका छन् - देशको रक्षा गर्ने र घाइते, बिरामी र विस्थापितहरूको हेरचाह गर्ने युक्रेनी कामदारमाथि अहिले आफ्नै संसदबाट आक्रमण भइरहेको छ।'

यो अभिव्यक्ति रुसविरुद्ध एकजुट रहेको युरोपियन युनियनको संसदका हरेक बैठकमा गुञ्जिने आवाज हो। अझ यो आवाज युरोपेली संसदभित्रको बागी आवाज हो। जसले निरन्तर रुपमा युक्रेन युद्धको समाधान शान्तिपूर्ण समाधान हुनुपर्ने आवाज उठाइरहेको छ। यस्तो अभिव्यक्ति दिने युरोपेली संसदभित्रका बागी सांसद हुन् मिक वालेस। 

इयु-युक्रेन समिटको तयारीका लागि आयोजना भएको संसद बैठकमा यस्तो अभिव्यक्ति दिएका हुन्।  

'जेलेन्स्कीले युद्ध जित्न आवश्यक देशकै मानिसहरू र संरचनाहरूमाथि आक्रमण गरिरहेका छन्। उनले देशको इतिहासमा सबैभन्दा नाटकीय निजीकरण कार्यक्रममार्फत जबरजस्ती गरिरहेको छन्: पश्चिमी गिद्ध कोषमा सार्वजनिक सम्पत्तिको आगो सरी बिक्री गरिरहेका छन्' उनले प्रश्न गरे,  'यसले युक्रेनी समाजको लागि के गर्नेछ? सार्वजनिक सम्पत्ति ठूला उद्योगीहरूलाई हस्तान्तरण गर्दा कहिल्यै कुनै देशका जनतालाई फाइदा भएको छ? यो कार्यक्रम अझ गहिरो भ्रष्टाचार र असमानताको लागि हो।' 

उनले सम्बोधनकै क्रममा युरोपियन युनियनलाई चेतावनी दिए- इयुले युक्रेनका लागि सूर्य, चन्द्रमा र ताराहरु दिने वाचा गरेको छ, जसमा द्रुत गतिमा इयुमा सम्मिलित हुनेसमेत छ। समाधान तपाईँ के चाँहदै हुनुहुन्छ!'

युरोपेली संसदभित्र हरेक पश्चिमा कदमको विरोध र अमेरिकाको आलोचक रुपमा सुनिने आलोचक हुन वालेस। 

उनले संसदकै बैठकमा नाटोको खारेजी सम्मको माग राख्छन्। अमेरिकाको कटु आलोचना गर्छन्। अफगानिस्तानमा मानवीय सहायता र अमेरिकाले रोक्का गरेको रकम फुकुवा माग गर्छन्। 

फेब्रुअरी १ को छलफलका क्रममा उनले भनेका थिए- 
अध्यक्ष महोदय, अफगानिस्तानमा नाटोको आपराधिक हस्तक्षेपको नतिजा दिनानुदिन खराब हुँदै गइरहेको छ। मानवीय प्रकोपको केन्द्रमा वासिङ्गटनको सम्पत्ति फ्रिज छ र यसले विदेशी बैंकहरूलाई प्रतिबन्धहरू उल्लङ्घन गर्ने डर पैदा गराइरहेको छ। यस वर्ष २८ मिलियन मानिसहरूलाई मानवीय सहायताको खाँचो पर्नेछ, र तालिबानहरू कुल दुःस्वप्न हुन्। युरोपको प्रतिक्रिया के छ? हामी अफगानिस्तानलाई धम्की दिन करण प्रणालीलाई हतियार बनाउनँदै छँ र यो प्रकोपबाट भागेका मानिसहरूलाई फिर्ता लिन बाध्य पारिरहेका छौँ जुन अवस्था सिर्जना गर्न हामीले पनि साथ दिएका हौँ। 

हामीले अफगानिस्तानलाई सजाय दिन बन्द गर्नुपर्छ। हामीले अमेरिकालाई सम्पत्ति फुक्का गर्न दबाब दिनै पर्छ, र हामीले संकटको चपेटामा परेका इरान र पाकिस्तान जस्ता यस क्षेत्रका अन्य देशहरूलाई सहयोग उपलब्ध गराउनै पर्छ, जुन दुबै पहिले नै प्रतिबन्ध र प्राकृतिक प्रकोपबाट पीडित छन्, र तिनीहरूले शरणार्थी समस्या सामना गर्न संघर्ष गरिरहेका छन्। र हामीले युक्रेन युद्धमा तेल थप्न बन्द गर्नुपर्छ र यसको सट्टा शान्तिको लागि काम गर्नुपर्छ। युद्धले संसारभरि धेरै समस्याहरू जटिल बनाएको छ, अरबौं जीवनलाई असर गरिरहेको छ।

पछिल्लो समय उनले सिरिया माथि लागेको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन्। पछिल्लो सयम टर्कीएमा गएको भूकम्पका कारण टर्कीए र सिरियामा ठूलो मात्रमा जनधनमा क्षति पुगेको छ। मानवीय सहायताहरु टर्कीएमा केन्द्रीत हुँदा पश्चिमा राष्ट्रहरुले सिरियालाई बेवास्ता गरिरहेको भन्दै आलोचना गरेका छन् वालेसले। 'टर्कीए र सिरियामा भूकम्पको परिणाम भयावह छ। यदि इयुले वास्तवमै यी मानिसहरुप्रति चासो राख्छ भने यसलाई उनीहरु सिरियामाथि लगाएको अवैध प्रतिबन्ध हटाउनुपर्छ। यसले धेरैभन्दा धेरै अवोध मानिसहरुलाई मारेको छ,' इयु कमिसनले टर्कीएका लागि उद्धार तथा मानवीय सहायता घोषणा गरेसँगै ट्वीट गरेका छन्। 

उनले सिरियाका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् - के युरोपियन युनियनलाई सिरियाका जनताप्रति चासो छ? के इयुले अवैध प्रतिबन्धको अन्त्य गर्छ? वा इयुले अमेरिकी शासकबाट आदेश लिने कामलाई निरन्तरता दिन्छ र यो भूकम्पका कारण जतिसुकै पीडित भए पनि सिरियाका जनताको मानवअधिकारलाई बेवास्ता गर्छ?

को हुन मिक वालेस?

मिक वालेस आयरल्याण्डका राजनीतिकर्मी हुन्। पूर्व पपर्टी डेभलपरपछि सत्ता विरुद्धको आन्दोलनबाट राजनीतिज्ञका रुपमा उदाएका उनी आयरल्याण्डको इन्डिपेन्डेन्ट फर चेन्ज पार्टीका सदस्य हुन्। सन् २००८ को आइरिस इकोनोमिक डाउनटर्नपछि आइरिस राजनीतिमा उनी एकाएक उदाएका हुन्। 

२०११ मा उनी त्यहाँको राजनीतिमा 'गैर संस्थापन' र जनवादी नेताको रुपमा उदाए। यस क्रममा उनी मिडिया लामइलाइटमा आइरहे। यही क्रममा उनले क्लारे डलेसँग राजनीतिक गठबन्धन गरे। डले आयरल्याण्डकी वामपन्थी राजनीतिज्ञ हुन्। कुनै समय लेबर पार्टीको सदस्यको रुपमा किशोरावस्थादेखि नै काम गरेकी उनले पछि समाजवादी पार्टी गठन गरेकी थिइन्।। उनी त्यस पार्टीको नेतृत्वमा १२ वर्ष रहिन्। पछि वालेससँग राजनीतिक सम्बन्ध राखेको आरोपमा पार्टीभित्रै आलोचना बढेपछि उनले समाजवादी पार्टी छाडिन्। 

पछि उनीहरु मिलेर इन्डिपेन्डेन्ट फर चेन्ज नामको पार्टी दर्ता गरे। यो पार्टी स्वतन्त्र बामपन्थी राजनीतिज्ञहरुका लागि चुनावमा लड्ने मोर्चाको रुपमा दर्ता भएको हो। सन् २०१५ मा यसका चार सदस्यले आयरल्याण्डको आम चुनावमा जित हात पारेका थिए।

२०१९ को इयु संसदको चुनावमा वालेससँग डेलले पनि आयरल्याण्डबाट जित हात पार्दै युरोपेली संसदमा प्रतिनिनिधित्व गर्छिन्। 

वालेस राजनीतिमा आउनुअगाडि लगानीकर्ता थिए। उनले २००७ मा वेक्सफोर्ड फुटबल क्लबको स्थापना गरेका थिए। यो क्लब आयरल्याण्डको पहिलो डिभिजन लिग क्लब हो। उनले तीन सिजन यसको अध्यक्ष भएर काम गरे। उनी निर्माण कम्पनीमा समेत लगानी गरेका थिए। उनको कम्पनीले आयरल्याण्डका ठूला निर्माण संरचनासमेत बनाएको छ। तर, उनी सन् २०१६ मा टाट पल्टिएको घोषणासँगै उनका कम्पनीहरु लिक्विडेसनमा गएका छन्। 

युरोपीयन संसदमा आलोचित
युरोपेली संसदमा वालेससँगै भेनेजुएला, इक्वेडर, चीन, रुस, बेलारुस र सिरियाको समर्थनमा दिएको अभिवक्तिका कारण आलोचित हुने गरेका छन्। 

सन् २०२१ मा अमेरिकाले चीनमाथि उगुर मुस्लिम समुदायमाथि मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाउँदा त्यसको विरोध गरेका थिए उनले। वालेसले इयु चीनलाई चुनौती दिने निहित स्वार्थ बोकेको अमेरिकासँग नाक मिलाएर हिँडेको आरोप लगाएका थिए। 

'हामीले चीन किन आक्रामक दृष्टिकोण राखिरहेका छौं? हामी किन आक्रामकताको सट्टा सहकार्यलाई रोजिरहेका छैनौं? राज्यको सार्वभौमसत्ता र अहस्तक्षेपको सिद्धान्तलाई हामीले किन सम्मान गर्दैनौं? हामीले चीनसँग शान्तिका लागि काम गर्नुपर्छ, यो हाम्रो हितमा छ,' उनले भनेका थिए। 

युरोपेली संसदका वालेस र डेले इराक पुगेर त्यहाँको हसाद अल-साबीको मुख्यालयमा पुगेका थिए। यो मुस्लिम लडाकु समूहलाई इरानले सहयोग गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। 

त्यस्तै उनले सिरियामाथि गलत आरोप लगाएर प्रतिबन्ध लगाइएको आरोप लगाएका छन्। उनले अर्गनाइजेसन फर प्रोहिविटेसन अफ केमिकल विपनका महानिर्देशक पर्नान्डो आइरिसलाई युरोपेली संसदमै प्रश्नन गरेका थिए। उनले बसर अल असादको सरकारमाथि गलत आरोप लगाउँदै सत्ता परिवर्तनको खेल खेलिएको आरोप लगाए। उनले ह्वाइट हेलमेटहरु अमेरिका र युकेले सत्ता परिचालनका लागि लगानी गरेको आरोपसमेत लगाएका थिए। 

वालेस र डेलाई २०२० को भेनेजुएलाको निर्वाचन र २०२१ को इकवेडरको निर्वाचनमा अनाधिकृत रुपमा निर्वाचन पर्यवेक्षण गरेको भन्दै युरोपेली संसदको निर्वाचन परिचालन सम्बन्धी समूहबाट प्रतिबन्ध लगाइएको छ।

उनले इयु र अमेरिकाले रुसमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आएका छन्। उनले युरोपेली सांसदमा रुसमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रस्तावसमेत दर्ता गरेका थिए। 

उनी प्लालेस्टाइनको पक्षमा उभिन्छन्। चीनको पक्षमा उभिन्छन्। उगुर अल्पसंख्यकको विषयमा चीनविरुद्ध आलोचना हुँदा उनले भनेका थिए- चीनले आफ्ना जनताको ख्याल युरोपियन युनियनले भन्दा राम्रो गर्छ। 

उनले सार्वजनिक रुपमै ताइवान जनवादी गणतन्त्र चीनको अभिन्न अंग भएको भन्दै ताइवान मामिलामा चीनको आन्तरिक मामिला भएको बताउँदै आएका छन्। उनका अभिव्यक्तिलाई युरोपेली संसदका अन्य सदस्यहरुले सँधै आलोचना गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell