PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

के कारणले निःसन्तानको समस्या हुन्छ, उपचार के? (अन्तर्वार्ता)



रिना थापा

के कारणले निःसन्तानको समस्या हुन्छ, उपचार के? (अन्तर्वार्ता)
Photo: Cornelia Li

पोखरा : यौनसम्पर्क रहिरहेको एक वर्षसम्म पनि गर्भमा बच्चा बसेन भने निःसन्तानसम्बन्धी समस्या रहेको बुझ्न सकिन्छ। समाजमा निःसन्तानसम्बन्धी समस्याबाट १० देखि १५ प्रतिशत दम्पती प्रभावित छन्।

निःसन्तानको समस्याको कारण दुवै महिला वा पुरुष हुनसक्छन्। तर, अझै पनि हाम्रो समाजमा निःसन्तान समस्या महिलाको कारण मात्र हुने गलत धारणा छ।

चिकित्सकका अनुसार ३० देखि ४० प्रतिशत निःसन्तानको समस्या पुरुषका कारण हुनेगर्छ। ४० प्रतिशत महिलाको कारणले निःसन्तानको समस्या हुने, १० प्रतिशतमा महिला पुरुष दुवै जिम्मेवार हुन्छन् भने, १० देखि १५ प्रतिशतको कारण नै थाहा हुँदैन।

निःसन्तानकै विषयमा स्त्री रोग चिकित्सक तथा सहप्राध्यापक डा राजेश अधिकारीसँग पहिलोपोस्टकर्मी रिना थापाले गरेको संवाद :

निःसन्तान भनेको के हो?

दम्पतीले कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरि गर्भ बस्न असमर्थ भए हामीले त्यसलाई निःसन्तान भएको भन्छौँ। अब, यो चाहिँ कहिलेकाहीँ कसैको एउटा बच्चा पनि नबसेको हुन्छ। कसैको एउटा बसेको अर्को बस्न अप्ठ्यारो भएको पनि हुन्छ। अब नेपालको सन्दर्भमा हेर्दा १० देखि १५ प्रतिशत दम्पती निःसन्तानको समस्याबाट प्रभावित छन्।

के कारणले निःसन्तानको समस्या हुन्छ?

महिला र पुरुषमा फरक-फरक कारण हुन्छ। पुरुषमा शुक्रकिटको समस्या देखिन्छ भने महिलाको कुरा गर्दा धेरैकुरा हेर्नुपर्छ। महिलामा एउटा हर्मोनको गडबडीका कारण हुन्छ भने अर्को पाठेघरको समस्या हुनसक्छ। कहिले पाठेघर बाहिर वा भित्र मासु पलाएको हुनसक्छ। अण्डासयको कारणले पनि हुनसक्छ।

डिम्बावाहिनी नलीमा समस्या भयो वा ब्लक भयो भनेपनि यस्तो समस्या हुन्छ। महिलाको कुरा गर्दा पाठेघर, अण्डासय, डिम्बवाहिनी, हर्मोन सबैकुरा हुनसक्छ। यहाँ महिनावारी समयमा नहुने समस्या लिएर धेरै दम्पती आउनुहुन्छ। मेरो बच्चा पनि बसेन भन्नुहुन्छ जसमा हामीले हेर्दा धेरै जसोमा पोलिस्टिक ओभरी भन्ने हुन्छ।

यसको उपचार के छ?

यो समस्याको उपचारको लागि दुई/तीनवटा पाटा छन्। सामान्यतय दम्पतीहरुलाई थाहा हुँदैन कुन समयमा बच्चा बस्छ भनेर। महिनावारी भएको १२/१४ दिनमा बच्चा बस्छ भनेर हामीले बुझ्छौँ।

त्यो समयमा यौन सम्पर्क नभएको हुनसक्छ। त्यस्तो खाल्को दम्पती हुनुहुन्छ भने हामीले सम्झाएर बुझाएर यो समयको वरिपरि बच्चा बस्छ भनेर भन्छौँ। यो पनि एउटा ‘मेथड’ हो। त्यसले पनि भएन भने औषधि उपचार सुरु गर्छौं। पुरुषको शुक्रकिट राम्रो छैन भने औषधि खाएर उपचार गर्न सकिन्छ।

महिलामा अण्डा नबढ्ने समस्या हुन्छ वा हर्मोनको समस्या हुन्छ। तिनीहरुको लागि पनि औषधि उपचार गर्न मिल्यो। त्यस्तै अण्डा बढाउने कुरा भयो। यी भनेको औषधिबाट गर्ने उपचार हुन्। औषधि उपचारबाट पनि भएन भने हामी एक स्टेप अगाडि बढेर आइयूआइ वा आइभीएफको उपचार गछौँ।

आइभीएफ र आइयूआइ उपचार विधि के हो?

आइयूआइ भनेको श्रीमानको विर्यलाई सफा बनाएर राम्रो विर्य छानेर, निकालेर पाठेघर भित्र राख्छौँ। यो बाहेक अर्को विधि छ : आइभीएफ। यसमा हामीले महिलाको डिम्बासयबाट अण्डा निकाल्छौँ सँगै श्रीमानको शुक्रकिट पनि निकाल्छौँ। त्यसलाई हामीले फर्टिलाइज गर्छौँ। कृत्रिम गर्भधारण गर्ने ‘मेथड’ हो यो। फर्टिलाइज भइसकेर बनेको भ्रूणलाई महिलाको पाठेघरमा लगेर राख्छौँ। यसलाई टेष्टुट्युब बेबी भन्छौँ।

श्रीमानको विर्य ठिक छ आमाको पनि ठिक छ भने त्यो दुईजनाको सबैकुरा मिलाएर बच्चा बनाएर राख्ने ‘प्रोसेस’ हो टेष्टट्युब बेबी। अपवादहरु हुन्छ महिलाको डिम्बासयमा समस्या भयो पुरुषको शुक्रकिट राम्रो भएन उपचार गर्दापनि राम्रो नहुने छ भने त्यस्तो बेला डोनरबाट शुक्रकिट लिने त्यसबाट आइभीएफ वा आइयूआइ गर्न सकिन्छ। तर, सबै राम्रो हुँदा हुँदै डोनरबाट राख्ने भन्ने हुँदैन।

यसको उपचारबारे के-के भ्रम छन्?

धेरै जसो मान्छेको के भ्रम छ भने आइयूआइ भनेको अर्काको विर्य राख्छ भन्ने छ। त्यस्तो भन्ने हुँदैन। आफ्नै श्रीमानको विर्यलाई सफा बनाएर राम्रो बनाएर छानेर पाठेघरमा राख्ने हो। अर्काको बच्चा राख्छ रे भन्नुहुन्छ। त्यो होइन। त्यस्तो हुँदैन।

समाजमा अर्को ‘मिथ’ पनि छ। यसरी जन्माएको बच्चा स्वास्थ्य हुँदैन भन्ने त्यस्तो हुँदैन। किनकि जुन स्वास्थ्य अण्डा र शुक्रकिट छ त्यसैले नै फर्टिलाइज गर्ने हो।

यसको उपचार विधि कति खर्चिलो छ?

उपचारको विधिका फरक कुरा भनिसकेँ। कोही आउनुहुन्छ उपचारका लागि। चेकजाँच गछौँ। समस्या छैन भने यो समयमा बच्चा बस्छ भनेर दम्पतीलाई सल्लाह दिन्छौँ। सल्लाह दिएर सहि समयमा यौन सम्पर्क भइ गर्भधारण भयो भने उहाँहरुको त खर्च भएन। त्यो पनि एउटा समस्या हो समाधान त भयो नि।

अब त्यो बाहेक समस्याका लागि सुरुवातमा औषधि खाएर उपचार गरिन्छ। औषधि त्यति महँगो पर्दैन। ६,७ सयको औषधि खाएर पनि उपचार हुन्छ।

त्यसरी समस्या समाधान नभए अर्को विधि अपनाउँछौँ। आइयूआइ गर्दा १२ देखि १५ हजार रुपैँया लाग्छ एकमहिनामा। अलिकति महँगो भनेको टेष्टट्युब बेबी हो। साढे दुई लाखदेखि तीनलाख सम्म खर्च लाग्छ। यसको उपचार गर्दाको शूल्क थोरै खर्चिलो छ।

स्त्री रोग चिकित्सक तथा सहप्राध्यापक डा राजेश अधिकारी


यसमा प्रयोग हुने औषधि नै खर्चिलो छ। एक त हाम्रो देशमा पाइदैन विदेशबाट आयात गर्ने हो सामान पनि। तर, सबैलाई टेष्टट्युब गर्नुपर्छ भन्ने छैन। सबैलाई तीनलाख रुपैयाँको उपचार आवश्यक पर्दैन। तीन लाख सोचेर निःसन्तानको उपचार महँगो हुन्छ भन्न मिल्दैन।

निःसन्तान महिलाको कारणमात्र हुन्छ भन्ने भ्रम कति छ?

हैन, मेरोमा समस्या नै छैन भन्ने पुरुषहरु हुनुहुन्छ। धेरै जसो, यसबारे जानकारी नभएका पुरुषले आफूमा समस्या छैन भन्नुहुन्छ। श्रीमतीमा नै समस्या छ होला भन्ने धेरै भेटाएको छु।

तर, हाम्रोमा पोखरा र पोखरा वरिपरिको दम्पती बढी आउनुहुन्छ। धेरै जसो उहाँहरुले स्वीकार गर्नुहुन्छ। मेरोमा समस्या भएको भएर उपचार गर्न आएको सहजै भन्नुहुन्छ। पहिले जस्तो अहिले छैन। पहिला स्वीकार नगर्ने धेरै थिए। अहिले चाहिँ पुरुषमा समस्या छ भने उपचार गरेर भएपनि बच्चा बसाल्न पर्‍यो भन्ने कुरा गर्नु हुन्छ।

वीर्यदानको ‘प्रोसेस’ के छ हाम्रोमा?

हाम्रो देशमा स्पष्ट कानुन छैन। जस्तो आइयूआइ गर्नलाई शुक्रकिट लिन वा दिनको लागि खासै कानुनी ‘प्रोसेस’ छैन। तर, गैरकानुनी पनि होइन। यो गैरकानुनी कसरी छैन भने यसमा मञ्जुरी लिइएको हुन्छ। जस्तो श्रीमानको शुक्रकिट राम्रो छैन भने उसले नै ‘कन्सेन्ट’ दिएको हुन्छ।

डोनरबाट लिएर शुक्रकिट श्रीमतीकोमा राख्न तयार छु भन्छन्। श्रीमतीले पनि मञ्जुरी दिएर साइन गर्‍यो भने त्यो चाहिँ ‘लिगल’ भयो नि। हाम्रो देशमा ‘लिगल’ नभएको भनेको ‘सरोगेसी’ हो।

सरोगेसीको विषयमा तपार्ईँको राय के छ?

कुनै महिलाको पाठेघरले बच्चा धान्न नसक्ने भयो। वा पाठेघर नै छैन भने त्यस्तो बेलामा चाहिँ श्रीमान र श्रीमतीको अण्डा र वीर्य निकालेर भ्रूण बनाई अरु कुनै महिलाको गर्भमा राख्यो भने त्यसलाई सरोगेसी भन्छौँ। तर, यो नेपालमा पाइँदैन। गैरकानुनी छ। तर, कति धेरै दम्पती हुनुहुन्छ जसको पाठेघर पनि छैन।

पाठेघरले धेरै समयसम्म बच्चा धान्न नसक्नेहरुलाई लाभदायक हुन्छ। सरकारले भोलिपर्सि सोच्ला, विषय आउँला। सरकारले पनि के सोच्नुपर्‍यो भने जसलाई जरुरी छ त्यसले मात्र गर्ने हो। हाम्रो नेपालमा विदेशी देश जस्तो ‘फेसन’ छैन। मेरो ‘फिगर’ बिग्रिन्छ म बच्चा पाउन सक्दिन ‘सरोगेसी’ गर्छु भन्ने छैन।

जरुरत भएका पनि छन्। कसैको पाठेघर छैन कसैको बच्चा खेरा गएको गई गर्छ। त्यस्तो मान्छेहरुले अर्काको पाठेघरमा लगेर बच्चा राख्न पाएको भए त त्यो बच्चा त जोगिन्थ्यो नि। आमा बन्न पाउँथे। श्रीमानले त अर्को विवाह गरेर भए पनि बच्चा पाउँला। महिला पनि सरोगेसीको माध्यमबाट बायोलोजिकल आमा पनि बन्न पाउँछन्। अब, यसको गलत प्रयोग हुनुभएन। 

समय अनुसार प्रजनन क्षमत घट्दै जान्छ यसमा अण्डा र शुक्रकिट फ्रिजिङको लाभ के छ?

हो, समय अनुसार प्रजनन क्षमतामा धेरै फरक पार्छ। पुरुषको भन्दा महिलामा। अण्डाको गुणस्तर घट्दै जान्छ। हामीले के भन्छौँ भने विवाह गरिसकेको छ भने पहिलो बच्चा ३० वर्षको उमेरभन्दा पहिला जन्माउनुपर्छ। जति उमेर बढ्दै गयो त्यति ‘फर्टिलिटी पोटेन्सियल’ घट्दै जान्छ।

अब त्यसैसँग जोड्दा अण्डा र शुक्रकिट फ्रिजिङ गर्न मिल्छ। यहाँ पोखरा फर्टिलिटी सेन्टरमा पनि अण्डा, शुक्रकिट र भ्रूण सुरक्षित गर्न मिल्छ। श्रीमानको शुक्रकिट नराम्रो छ भने औषधि खुवाएर राम्रो बनाएको समयमा शुक्रकिट निकालेर सुरक्षित राख्न मिल्छ।

अर्को नेपालमा सन्दर्भमा श्रीमानहरु वैदेशिक रोजगारमा जाने हुनुहन्छ। केही महिनाको लागि नेपाल आउनुहुन्छ। एकदुई महिनामा बच्चा बस्छ भन्ने छैन। त्यस्तो बेलामा उहाँको राम्रो भएको शुक्रकिटलाई राखेर उहाँ गए पनि त्यही शुक्रकिट निकालेर उहाँको श्रीमतीमा आइयूआइ वा आइभीएफ गर्न मिल्छ।

फ्रिजिङको अवधि कति हुन्छ? अण्डा, शुक्रकिट वा भ्रूण कुन राख्दा राम्रो हुन्छ?

यसलाई जति पनि राख्न मिल्छ केही समस्या हुँदैन। १२/१५ वर्षसम्म मज्जाले राख्न मिल्छ। सबभन्दा राम्रो भनेको भ्रूणको फ्रिजिङ हो।

यसमा शुक्रकिट निकाल्ने, अण्डा निकाल्ने र बनेको भ्रूणलाई फ्रिजिङ गरिन्छ। यो चाहिँ खासै हाम्रो देशमा चलन छैन। बाहिर देशमा चाहिँ करिअर ओरिन्टेड हुन्छन्। निश्चित समयपछि बच्चा बसाउँछु भन्छ।

३० वर्षको उमेरमा भ्रूण फ्रिजिङ गरेर राख्यौँ। त्यो भ्रूण ३५ वर्षको उमेरमा गर्भमा राख्यौँ। त्यसरी गर्भमा राखेको भ्रूण पहिल्यै जस्तै स्वस्थ्य हुन्छ। 

भ्रूणमा भएको ‘डिफेक्ट’ हेर्ने मिल्छ कि मिल्दैन?

भ्रूणमा भएको सेललाई निकालेर त्यसमा कुनै ‘डिफेक्ट’ छ कि छैन भनेर हेर्न पनि मिल्छ। तर, नेपालमा छैन त्यो सुविधा। यो एकदम ‘हाइटेक्नोलिजि’ पनि भयो मुख्य कुरा। यसको पनि ‘मिस्युज’ हुन्छ।

यसमा छोराछोरी कुन छ भनेर हेर्ने मिल्छ। ‘प्रि इम्पाल्नटेसन जेनेटिक डाइगनोसिस’ भन्छ। यसमा बच्चा जन्मनु भन्दा अगाडि नै कुनै समस्या छ कि छैन भनेर वा रोग छ कि छैन भनेर हेर्न मिल्छ। जाँच गरेको भ्रूणमा कुनै समस्या छैन भने त्यही भ्रूण गर्भमा लगेर राखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell