PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

टर्कीए भूकम्प : १०० घण्टापछि एक नवजात शिशुको जीवितै उद्धार



पहिलोपोस्ट

टर्कीए भूकम्प : १०० घण्टापछि एक नवजात शिशुको जीवितै उद्धार

टर्कीए भूकम्पको १०० घण्टा बितिसकेपछि पनि उद्धारकर्ताहरुले ध्वस्त भवनका भग्नावशेषबाट मानिसहरुको उद्धार गरिरहेका छन्। भूकम्प गएको १०० घण्टापछि उद्धारकर्ताहरुले एक नवजात शिशुको पनि उद्धार गरेका छन्।

भूकम्पमा परी हालसम्म २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सोमवार ७.८ र ७.६ म्याग्निच्युडको भूकम्प र परकम्प आएपछि झन्डै शून्यभन्दा कम तापक्रममा लाखौँ मानिसहर घरबारविहीन भएका छन्। दर्जनौँ देशहरूले सहयोगको वाचा गरेका छन् भने आपतकालीन उद्धार टोलीहरू पनि पठाएका छन्।

टर्कीएको दक्षिणी हाटे प्रान्तको समन्दगमा यागिज नामका १० दिने बालकलाई एक भग्नावशेष भवनबाट जीवितै निकालिएको छ। त्यस्तै, किरिखानमा, जर्मन उद्धारकर्ताहरूले ४० वर्षीया जेनेप कहरामनलाई १०४ घण्टाभन्दा बढी समय पछि भग्नावशेषबाट जीवित उद्धार गरेका छन्।

‘मैले पनि अब चमत्कारमा विश्वास गर्न थालेको छु’, अन्तर्राष्ट्रिय खोज र उद्धार टोलीको नेतृत्व गरिरहेका स्टिभन बेयरले भने, ‘मानिसहरू एकअर्कालाई अँगालो हालेर रोइरहेको देख्न सक्नुहुन्छ। त्यस्तो अवस्थामा पनि यी महिला यति धेरै फिटबाट बाहिर आउन सफल हुनु निकै ठूलो राहतको कुरा हो। यो पक्कै पनि एउटा चमत्कार हो।’

हाटे प्रान्तको समन्दग जिल्लामा ९० घन्टाभन्दा बढी समयसम्म फँसेका एक १० वर्षीय बालक र आमासमेत रातभर लगाएर उद्धार गरिएको छ। त्यस्तै, पूर्वको दियारबाकिरमा ३२ वर्षीय सेबाहत वर्ली र उनका छोरा सेरहातलाई पहिलो भूकम्प गएको १०० घण्टापछि जीवितै निकालिएको छ।

मानिसहरू जीवित भेटिने आशाहरू धूमिल हुँदै जाँदा बाँचेकाहरुको उद्धार सफल भएको हो। विज्ञहरूका अनुसार पाँच दिनभित्र पनि उद्धार नभएका भूकम्प पीडितमध्ये ६ प्रतिशत मात्रै जीवित भेटिने गरेका छन् भने २४ घण्टापछि उद्धार गरिए ७४ प्रतिशत बाँचेको तथ्यांक छ। चिसो अवस्थाका कारण पनि जीवित मानिसहरुको संख्या उल्लेखनीय रूपमा घट्ने सम्भावना रहेको उनीहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell