- दिनेशराज मैनाली-
विधिशास्त्रको मान्यता अनुसार ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’। सबैले कानुन जानेकै र पालना गरेकै हुनु पर्ने तथा यसको वर्खिलाप गरिएको खण्डमा दण्ड र सजाय हुने परिकल्पना गरिएको छ। त्यस्तै, पीडितलाई न्याय र पीडकलाई सजायको समेत कानुनमा व्यवस्था गरिएको छ।
यसै सेरोफेरोमा रहेर हालका दिनहरुमा बैंकिङ कसूरका मुद्दाहरुको चाप बढिरहेको छ। नेपाल मुलुकभित्र विगतको तुलनामा बैंक तथा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत-पत्र प्राप्त संस्थाहरुमार्फत कारोवार गर्ने संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, व्यक्ति तथा संस्थाहरुको संख्या दिनानुदिन बढिरहेको छ।
बैंकिङ कार्यमा सहज तवरले जनताको पहुँच पुग्नु जति सुखद छ, ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ को प्रावधानहरु बारे जनसमुदाय सचेत नहुँदा प्रहरी कार्यालयहरुमा मुद्दाको चाप बढ्न गई संलग्न व्यक्तिहरु हिरासतमा पर्नु, संस्थाहरु कालो सूचीमा पर्नु र न्याय निरुपण गर्ने क्रममा मुद्दा फैसला हुँदा कैद र जरिबाना भई फरार रहने व्यक्तिहरुको संख्या समेत तीव्र गतिमा बढ्नाले त्यति नै दु:खद रहेको पाइन्छ।
इन्टरनेटको माध्यमद्वारा (कनेक्ट आइपीएस, मोवाइल बैंकिङ, विभिन्न डिजिटल भुक्तानी सेवा प्रदायक एपहरु मार्फत) समेत कारोवार गर्ने कार्यले बैंकिङ कार्यमा नयाँपन आई सहजता प्रदान गरेको छ भने त्यसको पूर्ण तवरले जानकार नहुँदा ह्याकरले वन टाइम पासवर्ड (ओटीपी) ह्याक गरी खातामा रहेको रकम गायव गरिदिने, एक जनालाई रकमान्तर गर्नु पर्ने रकम अर्कैको खातामा जाने लगायतका विविध समस्या समेत परेको पाइन्छ।
तसर्थ, बैंकिङ कार्यहरु अति संवेदनशील हुन जाने भएकाले प्रत्येक कारोबार गर्दा असाध्यै ध्यान पुर्याएर मात्रै गर्नु पर्ने हुन्छ।
१. ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ ले देहायका कार्यलाई बैंकिङ कसूर उल्लेख गरेको पाइन्छ :
क) अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने :
नक्कली कागजात पेश गरी खाता खोल्न वा जानी जानी खाता खोलिदिन, कानुन बमोजिम बाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन, आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन।
ख) अनधिकृत रुपमा चेक, चेकबुक वा बैंक विवरण प्राप्त गर्न वा दिन नहुने :
कसैले कुने तरिकाले अनधिकृत रुपमा वा झुक्याई अन्य व्यक्तिको चेक, चेकबुक वा खाताको विवरण माग गर्न वा प्राप्त गर्न, एउटा व्यक्ति वा संस्थाको चेक, चेकबुक वा खाताको विवरण सम्बन्धित व्यक्तिले लिखित रुपमा अनुरोध गरेकोमा बाहेक अर्को कुनै व्यक्ति वा संस्थालाई दिन हुँदैन।
ग) अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने :
अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न, चेक चोरी गरी रकम निकाल्न, ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन, चेक, ड्राफ्ट लगायतबाट नगद लिन वा भुक्तानी दिन हुँदैन।
घ) क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन।
ङ) अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने :
गलत, झुट्टा वा नभएको विवरण पेश गरी वा धितोको अस्वभाविक मूल्याङ्कन गरी कर्जा लिन वा दिन र कर्जा उपलव्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिन वा दिन हुँदैन।
च) बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सो बाहेक अन्य क्षेत्रमा उक्त रकम प्रयोग गरी दुरुपयोग गर्न गराउन हुँदैन।
छ) बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, शेयरधनी प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, सल्लाहकार लगायत र निजका परिवारका सदस्य वा नजिकका नातेदारले बैंक वा वित्तीय संस्थाबाट कर्जा सुविधा लिई बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न हुँदैन।
ज) भाखा नाघेको ऋणीले कुनै बैंक वा वित्तीय संस्थालाई तिर्नु पर्ने कर्जा नतिरी अन्य बैंक वा वित्तीय संस्थामा खाता खोली रकम राख्न हुँदैन।
झ) कर्जा वा धितोस्वरुप बैंक वा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्तिको बढी, कम वा गलत मूल्याङ्कन गर्न हुँदैन।
ञ) बैंक तथा वित्तीय संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन हुँदैन।
२. ‘बैंकिङ कसूर तथा सजाय ऐन,२०६४’ले कसूरसँग सम्बन्धित देहाय बमोजिमको बिगो भएमा कसूरको मात्रा अनुसार देहाय बमोजिमको कैद र बिगो भराई बिगो बमोजिम जरिबाना हुने व्यवस्था गरेको पाइन्छ :
क) दश लाख रुपैयाँसम्म बिगो भए- १ वर्षसम्म कैद।
ख) दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए- १ देखि २ वर्षसम्म कैद।
ग) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए- २ देखि ३ वर्षसम्म कैद।
घ) एक करोड रुपैयाँभन्दा बढी बिगो भए- ३ देखि ५ वर्षसम्म कैद।
३. अनुसन्धानमा बाधा पुर्याएमा
बैंकिङ कसूर मुद्दाको अनुसन्धान तथा तहकिकातसम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ।
४. जाहेरी दिने अवधि र हदम्याद :
बैंकिङ कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ।
५. समस्या तथा चुनौतीहरु :
क) बैंकिङ कसूरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडित समेत रहेको भन्ने आशंका रहँदा रहँदै पनि स्पष्ट कानुनी आधार र प्रर्याप्त प्रमाणको अभावले प्रतिवादी समेत यदाकदा पीडित हुने अवस्था रहेको छ।
ख) आर्थिक प्रकृतिको तर फौजदारी कसूर अन्तर्गत पर्ने बैंकिङ कसूरका मुद्दाहरु प्रहरी कार्यालयहरुमा दर्ता भए पश्चात चाँडै न्याय निरुपणमा सहयोग पुग्ने भन्ने मनस्थितिले मुद्दा दर्ता गर्ने भएकोले यस्ता प्रकारका मुद्दा दर्ताको संख्या अन्तिम ३ आर्थिक वर्षहरुमा बढोत्तरी (आ.व. २०७७/०७८ मा बैकिङ कसूर मुद्दा दर्ता १७४१, आ.व. २०७८/०७९ मा बैकिङ कसूर मुद्दा दर्ता २७१५ र आ.व. २०७९र०८० को पुष मसान्तसम्ममा बैकिङ कसूर मुद्दा दर्ता २९९९) भएको अवस्था विद्यमान छ।
ग) प्रहरी जनशक्तिको ठूलो संख्या यस्ता प्रकारका मुद्दाहरुको अनुसन्धान तथा फैसला कार्यान्वयनमा संलग्न हुनु पर्ने भएकोले प्रहरीद्वारा सम्पादन गरिनु पर्ने दैनन्दिन शान्ति, सुरक्षा र गम्भीर तथा जघन्य प्रकारका अपराध अनुसन्धानमा प्रत्यक्ष एवं परोक्ष रुपमा असर पुर्याएको पाइन्छ।
घ) उच्च अदालतहरुबाट मात्र बैंकिङ कसूर मुद्दाको न्यायिक निरुपण हुने कानुनी प्रावधानले गर्दा उच्च अदालतहरु रहेका जिल्ला प्रहरी कार्यालयहरु र विशेषत: काठमाण्डौमा मुद्दाको चाप पर्ने गरेको पाइन्छ।
६. समाधानका उपायहरु :
क) सामाजिक सञ्जालमा जुन पायो त्यहि एप्समा क्लीक, लाइक गर्नाले फिसिङ्ग (बल्छी) मा पर्न जाने सम्भावना अत्यधिक हुन्छ, तसर्थ त्यस्ता कार्यहरु नगरौँ।
ख) नागरिकताको प्रमाण-पत्र, राहदानी, सवारी चालक अनुमति-पत्र आदिलाई सुरक्षित तवरले राखौँ।
ग) आफ्नो चेकबुक, वन टाइम पासवर्ड (ओटीपी)लाई सुरक्षित तवरले राखौँ।
घ) चेक हराएको तथा अन्य कोही कसैबाट दुरुपयोग भएको जानकारी हुनासाथ सम्बन्धित बैंक र नजिकको प्रहरी कार्यालयमा सूचना गर्ने गरौँ।
ङ) खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई दिने कार्य नगरौँ।
च) आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गरौँ।
छ) खाली चेकमा हस्ताक्षर गरी कोहि कसैलाई पनि नदिऔँ।
ज) एटीएम र यसको पासवर्ड सुरक्षित राखौँ।
झ) चेक भर्दा आफ्नै हातले अङ्क र अक्षरमा स्पष्ट रुपमा भरौँ।
ञ) संयुक्त रुपमा सञ्चालन भएको खातामा साझेदारद्वारा खाली चेकमा हस्ताक्षर गरी छाड्ने कार्य नगरौँ।
ट) आफ्नो बैंक खाता सकेसम्म सेयर नगरौँ।
ठ) आफ्नो नरहेको रकम खातामा आएको खण्डमा तुरुन्तै खाता रहेको बैंक तथा नजिकको प्रहरी कार्यालयमा सूचना दिई अनुसन्धान कार्यमा सहयोग गरौँ।
ड) मोबाइल बैंकिङमा प्रयोग गर्ने सिमकार्ड सकेसम्म छुट्टै हुँदा गोपनीयता कायम राख्न सजिलो हुन्छ।
ढ) आफूलाई रकमको आवश्यकता पर्यो भन्दैमा जति पनि ब्याज तिर्ने गरी चेक त हो नि रकम होइन भनी आर्थिक लेनदेन गर्ने नगरौँ।
ण) कसैले आर्थिक अवस्था मिलाउन पर्यो भनी अनुरोध गरेको खण्डमा जमानीको रुपमा बसी खाली चेक दिने कार्य नगरौँ।
त) एउटै कारोबारलाई मिलाउन पुरानो चेक फिर्ता नलिई पुन: नयाँ चेक जारी नगरौँ।
(लेखक नेपाल प्रहरीका प्रहरी उपरीक्षक हुन्)