काठमाडौं : गत बिहीवार जिल्ला प्रहरी परिसर काठमाडौंले अभियुक्त सार्वजनिक गर्दा केही फरक दृश्य देखियो। अभियुक्तले आफूले लगाएको कपडामाथि रातो टिसर्ट लगाएका थिए। उक्त टिसर्टमा कालो अक्षरमा लेखिएको प्रस्टै देखिन्थ्यो - प्रहरी वृत्त गौशाला थुनुवा।
यही अक्षरबाट देख्नेले सजिलै छुटाउन सकिन्थ्यो उनी प्रहरीले समातिएका अभियुक्त हुन्।
तर यसअघि यसरी अभियुक्त सार्वजनिक गरेको विरलै देखिएको थियो। बिहीबार भने अभियुक्त पहिचान गर्ने ड्रेससहित उपस्थित गरिएको हो। उनी काठमाडौंको गौशाला क्षेत्रमा एक पुरुषलाई हत्या गरेको अभियोगमा समातिएका मोरङ सुन्दरहरैचा नगरपालिका ७ घर भएका ३२ वर्षीय रामबहादुर थापा हुन्। उनले लुट्नको लागि वीरगंज घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने ५७ वर्षीय ध्रुवबहादुर खड्काको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
'हामीले अबदेखि अभियुक्तलाई म्याद थप गर्न अदालत लैजाने समयमा यस्तो पोशाक लगाएर पठाउने र ल्याउने गरेका हौं,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने भएको समयमा अदालतबाट म्याद थप गर्छ। जसको लागि अभियुक्तलाई अदालतमा उपस्थित गराउनुपर्छ। यसरी अदालतमा लग्दा न्यायाधीशको इजलासमा उपस्थित गराउँदा हतकडी खोल्नुपर्ने पनि हुन्छ। त्यतिखेर वा शौचालय जाने बहानामा भाग्ने गरेका धेरै घटना छन्। यसरी भाग्दा अरु मानिसले सहजै पहिचान गर्न नसक्ने अवस्था आएपछि ड्रेस लगाउने गर्न थालेको एसएसपी कार्कीले बताए।
'अदालतमा उपस्थित गर्दा सबैले परबाट नै अभियुक्त हो भन्ने पहिचान होस् भनेर यस्तो ड्रेस लगाउन थालेका हौं,' एसएसपी कार्कीले भने।
अदालतबाट फरार हुने अभियुक्त सङ्ख्या घटाउन यस्तो पोशाक ल्याइएको छ। त्यस्तै प्रहरी कार्यालयबाट अभियुक्तलाई अदालत लग्ने समयमा उनको फोटो खिच्ने व्यवस्था पनि गरिएको छ।