PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

तामझामवाला शैलीले राष्ट्रपतिप्रति नकारात्मक धारणा बन्दै गरेको गगनको बुझाई, परम्परा बदल्न दिए दुई सुझाव



पहिलोपोस्ट

तामझामवाला शैलीले राष्ट्रपतिप्रति नकारात्मक धारणा बन्दै गरेको गगनको बुझाई, परम्परा बदल्न दिए दुई सुझाव
फाइल फोटो

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुरानै तामझामवाला शैलीका कारण नागरिक राष्ट्रपति संस्थाप्रति नकारात्मक बन्दै गएको बताएका छन्। राष्ट्रपतिजस्तो संस्थालाई मर्यादित र सम्मानित बनाउन यस्तो शैली बदल्नुपर्ने सुझावसमेत गगनले पेश गरेका छन्।

'राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ,' उनले भनेका छन्, 'यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।'

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकमा सम्बोधन गर्न जाँदा सवारी ठप्प भएपछि आलोचना बढेको हो। अझ राष्ट्रपतिको सवारीका बेला वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले लाठी वर्षाएका थिए। जसका कारण राष्ट्रपति आलोचित बनेपछि कांग्रेस महामन्त्री थापाले यसबारे तत्काल सुनुवाईसमेत हुनुपर्ने माग गरेका छन्।

'हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ,' उनले भनेका छन्।

यस्तो शैली बदल्न गगनले दुई सुझावसमेत पेश गरेका छन्। 'विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास 'परम्परा' को नाममा चलिरहेको छ।यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ,' उनले फेसबकुमा भनेका छन्।

यी हुन् गगनले पेश गरेका दुई सुझाव

१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।

२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ। र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell