PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

के किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदैछन् ?



पहिलोपोस्ट

के किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदैछन् ?
सैन्य कार्यक्रममा छोरी किम जु एसँग उत्तर कोरियाली शासक किम जोङ उन

उत्तर कोरियाली शासक किम जोङ उनकी छोरी किम जु एको चर्चा अहिले विश्वभर भइरहेको छ। करिब ९ वर्षकी भनिएकी जु ए गत वर्ष नोभेम्बर महिनामा मात्रै सार्वजनिक कार्यक्रमा किमसँग देखिएकी थिइन्। त्यही बेला नै उनको चर्चा भए पनि हालै सैन्य कार्यक्रममा सरिक भएपछि उनको थप चर्चा चुलिएको हो।

जु ए आफ्नो बुवाको हात समाउँदै सैन्य परेडमामात्रै सहभागी भइनन्। उनले किमसँगै करिब ११ वटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षपेणसमेत हेरिन्। जु ए किम जोङको दोस्रो छोरी भएको बताइन्छ। किमको ३ जना सन्तान रहेको अनुमान गरिन्छ। किम जोङको पहिला सन्तान छोरा हो भन्ने रिपोर्ट पनि छ। तर हालसम्म किम जोङले आफ्नी छोरीलाई मात्र सार्वजनिक गरेका छन्।

उत्तर कोरियाली मिडियाले भने जु ए किम जोङको ‘प्रिय’ सन्तान रहेको उल्लेख गरेका छन्। अमेरिकन बास्केटबल स्टार डेनिस रोडम्यानले सन् २०१३ मा सर्वप्रथम किम जोङको जु ए नाम गरेको छोरी भएको बताएका थिए। त्यससमय डेनिस उत्तर कोरिया भ्रमण गरि फर्केका थिए।

उत्तर कोरियाबाट सार्वजिनिक भएका तस्विरहरुबाट किम जोङले विश्वलाई दुईवटा सन्देश दिन खोजेको विश्लेषकहरु बताउँछन्। पछिल्लोसमय किम जोङले उत्तर कोरिया आफ्नै वंशजबाटै शासित हुने र मिसाइल परिक्षण पनि नरोकिने सन्देश दिएका छन्। पुरुषप्रधान उत्तर कोरियमा छोरी जु एलाई किमले आफ्नो उत्तराधिकारीका रुपमा प्रस्तुत गर्ने प्रयास गरेको अनुमान गरिँदैछ।

उत्तर कोरियाली शासकले आफ्नो उत्तराधिकारी पहिला नै छनोट गर्ने परम्परा रहेको छ। किम जोङ द्वितियले किम जोङ उनको आठौं जन्मदिन मनाउने क्रममा आफ्ना सहयोगीहरुलाई किम जोङ आफ्नो उत्तराधिकारी बन्ने बताएका थिए।

सेजङ इन्स्टिच्युटका अनुसन्धानकर्ता चेङ सङ छोङ भन्छन्, ‘लामो समयसम्म किम जोङ द्वितियको जेठो छोरा किम जोङ नाम वा दोस्रो छोरा किम जोङ चोललाई उत्तराधिकारी भनेर हल्ला चलेको थियो।’

अहिले भने किमले आफ्नी छोरी जु एलाई सार्वजनिक कार्यक्रममा आफैसँग सहभागी गरेपछि उत्तर कोरियाको भावी ‘सर्वोच्च नेता’बारे बहस झनै चुलिएको हो। आफ्ना बुवा किम जोङ द्वितियले जसरी आफूलाई सानै उमेरमा उत्तराधिकारी घोषणा गरेका थिए किम जोङले पनि छोरीलाई त्यसरी नै ‘प्रोजेक्ट’ गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ।

उत्तर कोरियाली सरकारबाट संचालित पत्रिका ‘सिनमुन’ले जु एको नाम किम जोङकी श्रीमती भन्दा अघि आफ्नो समाचारहरुमा लेखेका छन्।जसमा जु एलाई किम जोङको ‘प्रिय’ भनेर सम्बोधन गरिएको छ।

छोङ भन्छन्, ‘औपचारिक रुपमा नै किम जु एलाई आधिकारिक उत्तराधिकारी घोषणा गरिएको छैन। तर उनी ‘डि फ्याक्टो’ उत्तराधिकारी हुन्।’

मिसाइल परीक्षण र सैन्य कार्यक्रममा जु एलाई अघि सारेर किम जोङले छोरीका लागि विश्वासको वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको विश्लेषकहरु बताउँछन्।

तर, केही विश्लेषकहरु भने किमले जु एलाई सार्वजनिक गर्नुलाई मात्र ‘पीआर स्टन्ट’को संज्ञा दिन्छन्। किमले विश्वको ध्यान पोङयाङ तर्फ आकर्षित गर्न यसो गरेको हुन सक्ने दक्षिण कोरियाका अवकाशप्राप्त जनरल चुन इन बम बताउँछन्।

‘सात दशकदेखि नै उत्तर कोरियाली उत्ताराधिका हाम्रो लागि जहिलै रहस्यमय रह्यो। अहिले आएर उनीहरुले किन आफ्नो तरिका परिवर्तन गर्छन्? यदि पाँच डलरको बाजी हाल्ने हो भने, जु ए उनको उत्तराधिकरी होइन भन्ने मेरो मत हो,’ चुन इनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell