काठमाडौँ: कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै पुलिस टिम च्याम्पियन बनेको हो।
प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन्। ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपीएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ। अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन्।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भयो।
गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गर्यो। सुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ।
प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो। जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो।
गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो। तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।
पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।