PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

५ हजार बढी गर्भवती रसियाली महिला किन प्रवेश गरे अर्जेन्टिना?



पहिलोपोस्ट

५ हजार बढी गर्भवती रसियाली महिला किन प्रवेश गरे अर्जेन्टिना?
Photo: istock / flyingwithababy

गएको केही महिनाहरूमा ५ हजारभन्दा बढी रसियाली गर्भवती महिलाहरू अर्जेन्टिना प्रवेश गरेका छन्। जसमध्ये गत बिहीवारमात्रै एकै विमानबाट ३३ जना महिला अर्जेन्टिना प्रवेश गरेको बीबीसीले उल्लेख गरेको छ।

पछिल्लो पटक आएका सबै महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा रहेको अर्जेन्टिनाको राष्ट्रिय अध्यागमन एजेन्सीले जनाएको छ। ती महिलाहरूले आफ्ना सन्तानहरूले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने आशासहित त्यहाँ बच्चा जन्माउन पुगेको बुझिएको छ।

यसरी अर्जेन्टिना प्रवेश गर्ने महिलाहरुको संख्या पछिल्ला समय बढ्दै गएको छ। यो युक्रेनमा युद्धको परिणाम भएको हुन सक्ने स्थानीय मिडियाले उल्लेख गरेको छ।

बिहीवार एकै विमानबाट अर्जेन्टिना प्रवेश गरेका ३३ मध्ये ३ महिलाहरुको कागजात नमिलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। अघिल्लो दिनमा पनि सो समस्याका कारण ३ जना महिलालाई नियन्त्रणमा लिइएको अध्यागमन एजेन्सीकी प्रमुख फ्लोरेन्सिया क्यारिग्नानोले बताइन्।ती रसियाली महिलाहरूले सुरुमा आफू पर्यटकका रूपमा अर्जेन्टिना आएको दाबी गरेको उनले जानकारी दिइन्।

‘उनीहरू यहाँ पर्यटन गतिविधिमा संलग्न हुन नआएको पत्ता लाग्यो, जुन कुरा उनीहरू आफैँले पछि स्वीकार गरे,’ उनले भनिन्।

रसियाली महिलाहरुले आफ्ना सन्तानलाई अर्जेन्टिनाको नागरिकता दिन चाहेको बताएको उनले जानकारी दिइन्। रसियाली राहदानीभन्दा अर्जेन्टिनाको राहदानीले आफ्ना सन्तानले बढी स्वतन्त्रता दिने उनीहरुको बुझाइ थियो।

‘समस्या के हो भने उनीहरू अर्जेन्टिना आउँछन्, आफ्ना छोराछोरीलाई अर्जेन्टिनी भएको बताउँछन् र यहीँ छोड्छन्। हाम्रो राहदानी संसारभरि धेरै सुरक्षित छ। हाम्रा राहदानी-धारकहरूलाई १७१ देशहरूमा भिसाबिना प्रवेश गर्न अनुमति दिन्छ,’ क्यारिग्नानोले भनिन्।

आफ्ना सन्तान अर्जेन्टिनाको नागरिक भए आमाबाबुको लागि नागरिकता प्रक्रियालाई पनि छिटो हुन्छ। हालसम्म तथ्यांकअनुसार रसियालीहरू केवल ८७ देशहरूमा भिसा बिना यात्रा गर्न सक्छन्।

बिहीवार पक्राउ परेका तीन महिलाका एक वकिलले उनीहरूलाई ‘नक्कली पर्यटक’ भएको आशंकामा थुनिएको तर यो ‘झूटो मुद्दा’ भएको बताए। उक्त कुरा ‘विद्यमान कानुनमा नभएको’ अधिवक्ता क्रिश्चियन रुबिलरले बताए।

‘कुनै पनि अपराध नगरेका, कुनै आप्रवासी कानुन नतोडेका यी महिलाहरूलाई गैरकानुनी रूपमा उनीहरुको स्वतन्त्रताबाट वञ्चित गरिएको छ,’ उनले थपे। लगत्तै ती महिलाहरुलाई रिहा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell