PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिकित्सकको आन्दोलनले बिचल्लीमा बिरामी, 'गाह्रो त जहिलै जनतालाई नै भयो'

चिकित्सकको आन्दोलनले बिचल्लीमा बिरामी, 'गाह्रो त जहिलै जनतालाई नै भयो'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ६० वर्षीया ज्ञानु गुरुङ आज बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगिन्। ‘फलोअफ’मा चिकित्सकले आजको मिति दिएकोले उनी पहिलै तयारी गरेर काठमाडौं आएकी थिइन्। तर, आज अस्पताल बन्द हुँदा उनी बिचल्लीमा परेकी छिन्।

हिजो राति काठमाडौं आइपुगेकी उनले भनिन्, ‘आज भएन भने तीन दिन कुर्नुपर्ने हुन्छ। एक्लै आएको कहाँ बस्ने? नाइट बसमा आएको। आजै सकाएर जाने सोच थियो।’

उनले शिक्षण संस्था आज बन्द हुने बारे आफूलाई थाहै नभएको र काठमाडौं आएपछि मात्रै जानकारी पाएको बताइन्।

यस्तै, बागलुङबाट सीता भुसाल हिजो काठमाडौं पुगिन्। साना छोरीछोरी सहित शिक्षण अस्पताल पुगेकी उनलाई सेवा नपाएकोमा गुनासो त छ नै बच्चाहरुलाई लिएर कहाँ जाने चिन्ता पनि थपिएको छ।

‘आफन्तकोमा बसेँ। ३ जना आएका छौं। बच्चालाई लिएर अब कहाँ जाने?’ उनले प्रश्न गरिन्।

चिकित्सकहरुको आन्दोलनका कारण बिरामीलाई गाह्रो भएको उनको बुझाइ छ।

‘अब एमर्जेन्सीमा गएर बुझ्छु। त्यता हेरे ठिक छ नत्र पछि आउँछु,’ उनले भनिन्।

गुरुङ र भुसाल जस्तै सयौं बिरामीले आज यस्तै हैरानी भोग्नु परेको छ। काठमाडौं आएका उनीहरुले जहिलै पनि गाह्रो जनतालाई नै भएको भन्दै आक्रोश पोखेका छन्।

नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभर स्वास्थ्य संस्था बन्द भएका छन्। राष्ट्रपतिको सवारी हुँदा वीर अस्पताल बाहिर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प गरिएको हो।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

संघको निर्णयसँगै आज देशभरका स्वास्थ्य संस्था बन्द हुँदा मर्कामा भने सर्वसाधरण परेका छन्। नियमित उपचार र फलोअपका लागि अस्पताल पुगेका बिरामीहरु बिचल्लीमा परेका छन्। 

महाराजगञ्चस्थित त्रिवि शिक्षण अस्पतालको दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell