काठमाडौं : नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा वीर अस्पतालका चिकित्सक कुटिएपछि संघ आन्दोलनमा उत्रिएको थियो।
संघले आइतवार देशभरका आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो। चिकित्सक नै आन्दोलनमा उत्रिएपछि सरकारले संघसँग वार्ता गरी आन्दोलन स्थगित गराएको हो।
सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र संघको तर्फबाट अध्यक्ष लोचन कार्की वार्तामा सहभागी थिए। संघ र सरकारबीच ६ बुँदे सहमति भएको र संघले अघि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गर्ने निर्णय भएको छ। सरकारले घाइते चिकित्सकको उपचारको व्यवस्था गर्ने र घटनाको दोषी प्रहरीलाई एक हप्ताभित्र कारबाही गर्ने सहमति गरेको छ। सरकारले कुटपिटमा उत्रिएका प्रहरीलाई निलम्बन गरिसकेको छ।
चिकित्सक आन्दोलनमा उत्रिएपछि बिरामीका आफन्तहरुसमेत अस्पताल खुलाउन माग गर्दै आइतवार आन्दोलनमा उत्रिएका थिए।