PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, बिनाविभागीय रहँदा राजीनामा दिएकी कृष्णा केसीलाई आन्तरिक मामिला मन्त्रालय



पहिलोपोस्ट

लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, बिनाविभागीय रहँदा राजीनामा दिएकी कृष्णा केसीलाई आन्तरिक मामिला मन्त्रालय

बुटवल : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त ७ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारूले भैतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णु पन्थीले स्वास्थ्यमन्त्रीको रुपमा शपथ लिए।

त्यस्तै, एमालेका दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्री पदको शपथ लिए।

यसअघि बिनाविभागीय रहेका दुईजना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ। एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र माओवादी केन्द्रकी कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्री केसीले यसअघि बिनाविभागीय मन्त्रीको रूपमा रहँदा शनिवार नै पदबाट राजीनामा दिएकी थिइन्। तर, मुख्यमन्त्रीको कार्यालयले मन्त्री केसीको राजीनामा मुख्यमन्त्री समक्ष आइनपुगेको बताएको छ।

लुम्बिनीमा प्रदेश सरकार गठन भएको एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो। गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लीला गिरीले शनिवार राति सरकारलाई समर्थन गरेका चार दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री गिरीले १३ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० बनाएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरुको सहमतिअनुसार एमालेबाट मुख्यमन्त्रीसहित पाँच, माओवादीबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना गरी १० जनाको मन्त्रिमण्डल बनाइएको हो।

सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भने मन्त्री बन्ने अवसर पाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell