काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीमा शुक्रवार आफू एक घण्टा जाममा परेको बताएका छन्। सरकारले राष्ट्रपतिको सवारी व्यवस्थापनमा ध्यान नदिँदा समस्या बढेको उनको भनाई थियो।
'अस्ति म आफै पनि एकघन्टा जाममा परें। एम्बुलेन्स पनि जाममा पर्यो,' पन्तले भने, 'पटकपटक आवाज उठ्दा पनि सरकारले ध्यान दिएन।
जाममा सांसदलाई समेत गाली गर्न थालेकोले आफूले लोगो छोप्नुपरेको उनको भनाई थियो। 'सांसदलाई पनि गाली गर्न थाले। त्यसपछि मैले संसदको लोगो छोप्नुपर्यो, मुखमा मास्क लगाउनुपर्यो,' पन्तले भने।
उनले रामवरण यादव राष्ट्रपति हुँदा पनि यस्तो समस्या रहेको उल्लेख गर्दै यसको समाधानका लागि प्रधानमन्त्रीस्तरबाट सम्बोधन हुनुपर्ने धारणा राखे। 'समयअनुकुल परिवर्तन आवश्यक छ। सरकारले यो परिमार्जन गर्नुपर्छ। यस्तो सवारीलाई सहज र सजिलो कसरी पार्ने? प्रधानमन्त्रीको ध्यानकर्षण गर्न चाहन्छु,' पन्तले भने, 'यसको समाधान प्रधानमन्त्री तहबाट हुनुपर्छ।'