काठमाडौं : माघ १३ गतेको सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद गइसकेको छ। नागरिकता विवादामा उनले नेपाली नागरिकता पुनप्राप्तिका लागि प्रक्रियामा जानुपर्ने अदालतले फैसला गरेपछि उनको सांसद पद गएको थियो। पद गएको १६ दिनपछि प्रतिनिधि सभाको शुन्य समयको सूचीमा भने लामिछानेकै नाम राखियो। सांसद र मन्त्री पद गुमाइसकेका लामिछानेको नाम सूचीमा राखेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराए।
अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षामाथि उठेका प्रश्नको जवाफ दिएर सकेलगतै खतिवडाले नियमापत्ति जनाएका थिए।
'सभामुख मोहदयले माघ १८गते सर्वोच्च अदालतको फैसला पढेर सुनाउनु भो। शुन्य समयमा लिस्ट बितरण गर्दा शुन्य समयमा रहेका माननीय सदस्यहरु भनेर समूह ग उल्लेख गरियो। १३७ मा बिमला सुबेदी र अन्तिममा लिला देवी बोखिम भन्ने २०४ भनेर उल्लेख गरियो। १७७ मा तपाईँले बोलेको बचनअनुसार रवि लामिछाने भन्ने माननीयको नाम उल्लेख गरिएको छ। यो हजुरको मिस्टेक हो कि सचिवालयको?,' खतिवडाले प्रश्न गरे। लगतै सभामुखले खतिवडालाई जवाफ फर्काउदै व्यक्तिग गल्तीका कारण त्यसो भएको र पुरानै नामावली रहेको जानकारी गराएका थिए। 'यो व्यक्तिगत मिस्टेकले मात्रै यस्तो भएको हो। पुरानो नामावली राखिएको छ,' सभामुखले भनेका थिए।
सभामुखको जवाफ सुनेर कांग्रेस सांसद खतिवडाले हास्दै 'थम्सअप' गरेका थिए।