काठमाडौं : यस वर्षको मिस तामाङ वर्ल्डको ताज सिक्किमकी स्नेह तामाङले पहिरेकी छिन्। शनिवार भारतको सिलगुडीमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीमध्येबाट स्नेहले ताज हात पारेकी हुन्।
१८ वर्षीया स्नेह सिक्किम सोरेङकी हुन्। ताजसँगै स्नेहले नगद दश लाख पुरस्कारसमेत पाएकी छिन्। अघिल्लो मिस तामाङ वर्ल्ड संस्करणको ताज सिक्किम गान्तोक निवासी साङडोल्मा तामाङले हात पारेकी थिइन्। उनै साङडोल्माले स्नेहलाई यसपटकको ताज पहिरिदिइन्।
मिस तामाङ वर्ल्ड फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा मिस तामाङ वर्ल्ड कल्चरको उपाधि गंगा ग्याबक तामाङले पाइन्। यसैगरी मिस तामाङ वर्ल्ड एजुकेसनको उपाधि सोनाम वाङ्छु तामाङ, मिस तामाङ वर्ल्ड सोसल वेलफेयरतर्फको उपाधि जसमिन लामा, मिस तामाङ वर्ल्ड स्वास्थ्य तर्फको उपाधि लजिम तामाङ र मिस तामाङ वर्ल्ड भाषातर्फको उपाधि नमुना तामाङले हात पारेकी छिन्।
मिस तामाङ वर्ल्डमा सिक्किम, दार्जिलिङ, नेपाललगायत विभिन्न स्थानका सहभागी प्रतिस्पर्धामा उत्रिएका थिए। काठमाडौंमा प्रशिक्षणको कार्यक्रम सकाएर फिनाले सिलगुडीमा आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए। मिस तामाङ वर्ल्डको फिनालेमा ‘सारेगमाप लिल च्याम्प्स ९’ को उपाधि विजेता जेत्सन डोना लामालेसमेत आफ्नो प्रस्तुति दिएकी थिइन्।