काठमाडौँ: विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने आयोजकले जनाएको छ। अघिल्लो सिजनको तुलनामा करिब ५ लाख रुपैयाँ राशी बढाउने तयारी रहेको आयोजकले जनाएको छ।
गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो। यस सिजनको बिजेताले पाउने पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए।
‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोँच बनाएका छौं। यस पटक कम्तिमा विगतको तुलनामा ४–५ लाख पुरस्कार राशी बृद्धि हुन्छ,' उनले भने।
यसैगरी उप विजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउने उनले बताए। पुरस्कार राशीबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए।
यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ। यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदैछ। खेलहरु रातिको समयमा फर्ड लाइटमा सञ्चालन हुने छन्। प्रतियोगितमा ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।