PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल भारत मैत्रीपूर्ण फुटबल : ओलम्पिक छनोटको तयारी कि साफको साख जोगाउने चेष्टा?



मुकुन्द घिमिरे

नेपाल भारत मैत्रीपूर्ण फुटबल : ओलम्पिक छनोटको तयारी कि साफको साख जोगाउने चेष्टा?

काठमाडौं :पाँच महिनाअघि काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा केही अनेपक्षित नतिजा आए। उक्त प्रतियोगिताको नतिजा उपविजेता नेपाल र विजेता बंगलादेशका लागि सुखद भए पनि दक्षिण एसियामा दबदबा बनाएको भारतका लागि सुखद थिएन। साफ च्याम्पियनसिपमा भारतीय टोली त्यसअघि सबै संस्करणमा 'च्याम्पियन' बनेको थियो, कुनै पनि पराजय नब्यहोरी। प्रतियोगितामा दुई हार ब्यहोर्‍यो भारतले, बंगलादेशसँग र नेपालसँग। जससँगै भारत पहिलोपटक साफको उपाधि जित्नमात्र चुकेन, फाइनलको यात्रा नै तय गर्न असफल रह्यो।

फुटबलमा लगानी र अनुभवको हिसाबले अगाडि रहेको भारतका लागि यो ठूलै धक्का थियो। दक्षिण अमेरिकी 'जायन्ट' ब्राजिल, चिली, भेनेजुयलाजस्ता देशहरुसँग 'एक्पोजर' लिएको भारतले साफमा फितलो प्रदर्शन गर्‍यो। उक्त नतिजाबाट भारतीय टोली आन्तरिक रुपमा पनि आलोचित बन्यो। त्यसो त साफमा युरोपमा खेलिरहेका केही उत्कृष्ट खेलाडीबिनै भारतीय टोली नेपाल आएको थियो।

पाँच महिनापछि भारतले फेरि एकपटक नेपालसँग प्रतिस्पर्धा गर्दैछ। गृहमैदानमा भारत 'फुल स्ट्रेन्थ'मा रहँदा मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली सोमवार भारत जाँदैछ। भारत आफ्नो दबदबामा पुरानो प्रतिष्ठालाई पुन:स्थापित गराउन चाहन्छ भने नेपाल आफ्नो साफको साखलाई जोगाउन चाहन्छ।

यो कुरा फरक पाटो भएको मान्छन् तर अस्वीकार गर्दैनन् नेपाली टोलीका प्रशिक्षक अनन्त थापा।

'हामीले उनीहरुलाई हरायौँ, उनीहरुले हामीलाई बोलाएर हराउने भन्ने फरक पक्ष हो। फुटबल भनेको लामो प्रकृया हो, यो चलिरहन्छ,' उनले भने, 'ओलम्पिक हुन्छ, साफ हुन्छ यो प्रकृया चलिरहन्छ। हामीले चाहिँ हाम्रो फुटबललाई कसरी माथि लैजाने भनेर सोच्ने हो। भारत र नेपालको महिला फुटबलमा आफ्नो खालको प्रतिद्वन्दिता त छँदैछ।'

यसपटक पनि नेपाली टोलीको कप्तानमा एन्जिला तोम्बाफोले नै निरन्तरता पाएकी छिन्। अघिल्लो खेलमा भन्दा भारतीय टोलीमा अन्य केही खेलाडी फरक पर्नुलाई भने उनी असमान्य रुपमा लिदिँनन्।

'मैदानमा निस्किसकेपछि खेल्ने भनेको खेलाडीले हो। त्यति धेरै फरक पर्छ जस्तो लाग्दैन। बाहिर गएका खेलाडी कमब्याक भए होला तर यो फिल्डमा देखिने कुरा हो।'

फेरिएका प्रशिक्षक

साफ च्याम्पियनसिप ताका नेपालका प्रशिक्षक थिए कुमार थापा। प्रतियोगिताको फाइनलमा पराजय ब्यहोरेसँगै उनले 'लक्ष्य पूरा गर्न नसकेको' भन्दै मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)ले हाल राष्ट्रिय टोलीको जिम्मेवारी दिएको छ अनन्त थापालाई। राष्ट्रिय टोलीका पूर्व खेलाडी थापाले ए डिभिजन लिगको विभागीय टोली नेपाल पुलिस क्लबलाई लामो समय प्रशिक्षण दिलाइसकेका छन्।

त्यस्तै, भारतीय टोलीमा पनि प्रशिक्षक फेरिएका छन्। साफ च्याम्पियनसिपमा सुरेन क्षेत्री भारतीय टोलीको प्रशिक्षक रहेकोमा हाल स्वीडिस प्रशिक्षक थोमस डेनब्रीले भारतीय टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

'अहिलेको तयारी छोटो समयमा भए पनि साफमा मैले सबै म्याचहरु हेरेको थिएँ। छोटो समय भए पनि राम्रो टिम हरेको छु,' थापा भन्छन्, 'त्यसलाई हेरेर सुधार गर्नुपर्ने पक्षमा काम गरेको छु। नेपाली टोलीले नयाँ शैलीले खेल्नेछ र कसरी खेल्छ भन्ने सन्देश दिन चाहन्छ। महिला टोली सशक्त टोली भएर निस्कनेछ।'

ओलम्पिकको तयारी?

नेपाल र भारतीय महिला फुटबल टोलीले अब खेल्नु पर्ने मुख्य प्रतियोगिता भनेको ओलम्पिक छनोट हो। ओलम्पिकको एसियाली छनोटको पहिलो 'राउण्ड'लाई चार टिम सम्मिलितको पाँच समूह र तीन टिमको दुई समूह गरि सात समूहमा विभाजन गरिएको छ।

ओलम्पिक क्वालिफायर्समा भारत, कीर्गिस्तान र तुर्किमिन्स्तान समूह 'जी' मा छ। नेपाल समूह 'सी'मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग छ। छनोटका खेलहरु अप्रिल ३ देखि ११ सम्म हुनेछ।

भारतका लागि नेपालसँगको खेल ओलम्पिक छनोटको तयारी पनि हो। नेपालसँगको खेल पछि पनि प्रशिक्षणले निरन्तरता पाउने भारतीय फुटबल संघ (एआईएफएफ)को वेबसाइटमा जनाइएको छ।

भारतीय टोलीका प्रशिक्षक डेनब्रीले नेपालसँगको खेल ओलम्पिक छनोटको तयारी खेल हुने बताएका हुन्। यसमा नेपाली टोलीका प्रशिक्षक थापा सहमत छन्।

'भारतले पनि ओलम्पिकलाई लक्षित गरेर मैत्रीपूर्ण खेल खेलिरहेको छ। हामी पनि मैत्रीपूर्ण खेल पछि के कस्तो टोलीमा परिवर्तन ल्याउनुपर्छ भन्ने पक्षमा ध्यान दिनेछौं,' थापाले भने, 'ओलम्पिक छनोटमा भारत भन्दा सशक्त राष्ट्रहरु हाम्रो समूहमा छन्। त्यसमा यो खेलहरुले सहयोग गर्छ जस्तो लाग्छ।'

कप्तान तोम्बाफो पनि यो खेल ओलम्पिक छनोट तयारीका लागि महत्वपूर्ण हुने मान्छिन्। उनले भनिन्, 'ओलम्पिक छनोटका लागि यो खेल प्लस प्वाइन्ट हुनेछ।'

खेल तालिका

खेल यही फेब्रुअरी १५ र १८ मा चेन्नइमा हुन्छ। जवहारलाल नेहरु स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे हुनेछ।

खेलहरुको प्रत्यक्ष प्रसारण भारतीय स्ट्रिमिङ प्ल्याटफर्म 'फ्यानकोड'ले गर्ने एआईएफएफले जनाएको छ।

नेपाली टोलीको विदाई

भारत जाने नेपाली टोलीलाई आइतवार अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का महासचिव किरण राई लगायतले खेलाडीहरुलाई विदाइ गरे।

विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण एसियाली क्षेत्रमा थप प्रतिस्पर्धा बढेको भन्दै सदस्य सचिव घिसिङले थप अभिभारा बढेको बताए।

'पछिल्लो समय केही देशले केही नयाँ खुडकिला थपेको छ। साफ च्याम्पियनसिप सिनियरमा होस या यू २० मा होस्। केही चुनौती आएको छ,' घिसिङले भने, ' भारतसँग पछिल्लो खेलमा जितेका छौँ। कोही बलियो प्रतिस्पर्धी आउँछ भने थप बलियो बन्ने अभिभारा आयो भन्ने बुझ्नुस्।'

त्यस्तै, एन्फा महासचिव किरण राईले भारतसँगको खेल मैत्रीपूर्ण खेलमात्रै नभएको बताउँछन्।

'फ्रेन्ड्ली भने पनि यो खेलले धेरै फरक पर्छ। साफमा हरायौँ। फेरि हराउँदै जानुपर्छ। बंगलादेश चुनौतीका रुपमा देखिएको छ,' राईले भने, 'भारतलाई पराजित गर्ने क्रमलाई निरन्तरता दिनु पर्छ। राज्यप्रतिको दायित्व सम्झेर पूरा गर्नुहुनेछ। फर्केर आउँदा एउटा इतिहास बनाएर आउनु हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell