काठमाडौं : एमाले-माओवादी गठबन्धनको सरकारले जनयुद्ध दिवसमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारको निर्णयबारे असन्तुष्टि व्यक्त गर्दा सत्तामा रहेका दलमध्येको सबैभन्दा ठूलो दल नेकपा एमाले भने मौन छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धबारे कडा टिप्पणी गर्ने गरेका थिए।
तर आजको सरकारको निर्णयबारे एमालेका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन्। माओवादी केन्द्रका नेताहरु भने जनयुद्धमा सार्वजनिक बिदा दिनु जनयुद्धको सम्मान भएको भन्दै रक्षात्मक भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार तथा माओवादी नेता हरिबोल गजुरेलले अहिलेको परिवर्तन जयनयुद्धकै कारण सम्भव भएको भन्दै बिदा स्वभाविक भएको तर्क गरे।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सरकारको उक्त निर्णयबारे मौन छ एमाले जस्तै। दुबै दलले राष्ट्रपतिको निर्वाचनका बेला सम्म प्रधानमन्त्रीलाई नचिढाउने नीति लिएका कारण सरकारका निर्णयको खरो विरोधमा नउत्रने देखिएको छ।