इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले एस्टोन भिल्लालाई ३-१ गोलअन्तरले हराएको हो।
खेलको चौथो मिनेटमै रियाद महरेजको पासमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३९ औं मिनेटमा इल्के गुण्डोगनले अर्लिङ हल्याण्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा इन्ज्युरी समयमा सिटीले फेरि गोल थप्यो। यसपटक महरेजले पेनाल्टीमा पाएको अवसर सदुपयोग गरे। दोस्रो हाफमा एस्टोन भिल्लाले एक गोल फर्कायो। खेलको ६१ औं मिनेटमा ओल्ली वाटकिन्सले गरेको गोल भिल्लाका लागि सान्त्वना गोल बन्यो।
गएराति नै इल्याण्ड रोड स्टेडियममा सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई हराएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा गरेको थियो। खेलको ८० औं मिनेटमा मार्कस रासफोर्ड र ८५ औं मिनेटमा अलेजान्द्रो ग्रान्चोले गोल गर्दै घरेलुमाथि जित दिलाए।
योसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँग अंकदूरि घटाउँदै लगेको छ। आर्सनल २१ खेलबाट ५१ अंक जोड्दै शीर्षस्थानमा रहँदा २२ खेलबाट ४८ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। तेस्रो स्थानमा २३ खेलबाट ४६ अंक जोडेको युनाइटेड छ।