काठमाडौं : २०७७ साल साउनमा काठमाडौंको सीतापाइलामा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई सात वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत काठमाडौंले सात वर्षको कैद सजाय सुनाएको हो।
दुई वर्ष अघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहको एकल इजलासले अभियुक्तद्वय मोहम्मद आलम र मुन्ना मोहम्मदलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेसँगै उनीहरु दुवै जना सुन्धारा कारागामा थिए। उनीहरुले ५ लाख रुपैयाँ जरिवाना र १५ लाख क्षतिपूर्ति भराउन पनि आदेश भएको छ।
साउन ८ गते ओखलढुंगाकी युवतीमाथि बाफलमा एसिड आक्रमण भएको थियो। रक्सीको बोतलमा भरेर अभियुक्त आलमको योजनामा मुन्नाले युवतीमाथि एसिड प्रहार गरेका थिए।
युवती कोठाबाट दही किन्न भन्दै साँझ ७ बजेतिर निस्किएकी थिइन्। मोहम्मदले युवतीलाई मोटरसाइकलमा राखे। दुवै खाजा खान निस्किए। करिब ३० मिनेटपछि उनले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छोडिदिए। त्यसपछि उनी आफ्नै बाटो लागे। युवती केही समय अगाडिदेखि आलमकै झोला कारखानामा काम गर्थिन्। उनी हिँडेको केही समय नबित्दै एक युवकले ती युवतीमाथि एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।