PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

घरेलु मैदानमा अंक बटुल्ने दबाब : स्कटल्याण्डको 'टप' हुने महत्वकांक्षा, प्रतिस्पर्धा कडा हुने नामाबियाको आंकलन



मुकुन्द घिमिरे

घरेलु मैदानमा अंक बटुल्ने दबाब : स्कटल्याण्डको 'टप' हुने महत्वकांक्षा, प्रतिस्पर्धा कडा हुने नामाबियाको आंकलन

काठमाडौं : मंगलवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ। सिरिजका लागि नामिबिया र स्कटल्याण्डको टोली नेपाल आइसकेका छन्। क्रिकेट विश्वकप लिग २ उत्तरार्धमा तीनवटै टोली अंकतालिकामा आफ्नो 'पोजिसन' बनाउने होडमा छन्।

पहिलो पटक नेपाल आएका स्कटल्याण्डका प्रशिक्षक सेन बर्गरले नेपाल आएर उत्साहित भएको बताए। उनले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो स्थान कायम राख्ने लक्ष्य लिएको बताए। पिच र मौसमको अवस्था पनि स्कटल्याण्डको भन्दा यहाँ धेरै फरक भएको उनले बताए।

'हजारौ 'प्यासोनेट' समर्थकहरु उपस्थित हुने अपेक्षा गरेका छौं। उच्च प्रतिस्पर्धा हुनेछ,' उनले भने, 'हामी टेबलको टपमा हुन चाहन्छौं।'

त्रिकोणात्मक सिरिजमा अर्को टोली हो नामिबिया। यसभन्दा अगाडि सन् २०१६ मा नामिबियाको टोली नेपाल आएको थियो। नामिबियाका प्रशिक्षक जोहान रुडोल्प त्यसबेला खेलेका केही खेलाडीहरु अझै टिमका महत्वपूर्ण सदस्य भएको बताउँछन्।

'२०१६ मा नेपालमा खेलेका खेलाडीमध्ये केही अझै पनि टोलीमा छन्। उनीहरुसँग त्यो अनुभव छ। हाम्रो ६ वटा महत्वपूर्ण खेल बाँकी छ। सबै खेल टफ छ। हामी तालिकामा माथि जान चाहन्छौं,' उनले भने, ' नेपालसँग नेपाली भूमिमा खेल्नु टफ ब्याटल हुनेछ। उनीहरुसँग प्यासन छ। स्कटल्याण्डसँग पनि कडा प्रतिस्पर्धा हुँदै आएको छ।'

अर्कोतर्फ घरेलु टोली नेपाललाई आफ्नै मैदानमा हुने सिरिजमा खराब प्रदर्शनको शृङखला तोड्ने चुनौती हुनेछ।

'यो सिरिज हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ। बाँकीका दुई सिरिज कस्तो हुनेछ भन्ने यो सिरिजमा निर्भर हुनेछ। खेलाडीहरु सबै मानसिक रुपमा तयार छन्,' नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल भन्छन्, 'सिरिजका लागि तयारी राम्रो भएको छ।'

यसक्रममा आफूलाई दबाब नभएको उनको दाबी छ। प्रशिक्षक नयाँ भए पनि उनीसँग उमेर समूहमा खेल्दैदेखि काम गरेर आएकोले चाँडै सहज भएको उनले बताए। नेपालका नयाँ प्रशिक्षक मोन्टी देसाई यसअघि नेपाली टिमको उमेर समूहमा सल्लाहकार प्रशिक्षक थिए।

अर्कोतिर 'ह्याप्पी ड्रेसिङ रुम' लाई 'मोट्टो' बनाएका प्रशिक्षक मोन्टी देसाई खेलाडीहरुमा राम्रो 'स्कील' भएको भन्दै सकारात्मक नतिजाको अपेक्षा रहेको बताउँछन्।

'मेरो यहाँको यात्रा सुरु भएको दुई हप्ता भयो। क्रिकेटले जित र हार दुबै सिकाउँछ। मैले नेपाली खेलाडीहरुमा धेरै स्कीलहरु पाएको छु,' उनले भने, 'उनीहरुलाई आफ्नो सबल पक्ष केहो भन्ने थाहा छ।'

लिग २ मा नेपाली ब्याट्सम्यानको कमजोर प्रदर्शनबारे जवाफ दिँदै देसाईले त्यसमा काम गरिरहेको बताएका छन्। उनले कमजोरी स्वीकार्दै भने : लिग २ मा २३० रन भन्दा धेरै स्कोर तीन पटकमात्र पार गरेका छन्।

अंकतालिकामा को अगाडि?

सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्ड शीर्ष स्थानमा छ। 'ओडिआई साइकल'मा उसले अब चार खेल खेल्न बाँकी छ। अर्थात यही सिरिजबाट सबै ३६ खेलहरु पूरा गर्नेछ।

अंकतालिकामा ३२ खेलबाट ४६ अंक जोडेर स्कटल्याण्ड शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा ४४ अंक जोडेको ओमन छ। ओमनले सबै ३६ खेल खेलिसकेको छ। नामिबियाले अब ३० खेल खेलेर ३७ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३६ खेल पूरा गरेको अमेरिका ३५ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।

नेपाल भन्दा ठीक अगाडि २६ खेलबाट २७ अंक जोडेको यूएई पाँचौ स्थानमा छ। छैटौ स्थानमा रहेको नेपालले २४ खेलबाट १८ अंक जोडेको छ। नेपालले २४ खेलमा ८ वटामात्र जित निकाल्न सफल भएको छ। १२ खेल बाँकी रहँदा शीर्ष तीनमै पर्न पनि नेपाललाई धौधौ छ। सातौं स्थानमा २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी रहेको छ।

खेल तालिका

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले मंगलवार नामिबियासँग खेल्दैछ। खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टीभीले गर्नेछ।

फागुन २ गते नेपाल भर्सेस नामिबिया

फागुन ३ गते नामिबिया भर्सेस स्कटल्याण्ड

फागुन ५ गते नेपाल भर्सेस स्कटल्याण्ड

फागुन ६ गते नेपाल भर्सेस नामिबिया

फागुन ८ गते नामिबिया भर्सेस स्कटल्याण्ड

फागुन ९ गते नेपाल भर्सेस स्कटल्याण्ड

कोको छन् १४ सदस्यीय नेपाली टोलीमा?

१४ सदस्यीय टोलीमा सूर्य तामाङले पहिलो पटक स्थान बनाउँदा भीम सार्की, सुन्दीप जोरा र कुशल मल्लले पुनरागमन गरेका छन्। नियमित सदस्य आरिफ शेख, अर्जुन साउदलगायत प्रतिश जिसी र मौसन ढकाल भने रिजर्भमा छन्।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलसन झा, भीम सार्की, सूर्य तामाङ पनि टिममा छन्। 

बलात्कारको आरोप लागेर हाल जमानतमा रिहा भएका सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा राखेको भन्दै आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell