काठमाडौं : लुम्बिनी प्रदेशकी पूर्वमन्त्री विमला वलीले माओवादी पार्टी त्यागेकी छिन्। आफूलाई पार्टीले युज एन्ड थ्रो गरेको उल्लेख गर्दै उनले पार्टी त्यागेकी हुन्।
आफ्नो भूमिकाको ख्यालै नगरी कुनै कमिटीमा नराखेकोमा अपमानित अनुभूति भएको उल्लेख गर्दै उनले पार्टी त्यागेको जनाएकी छिन्।
'मलाई पार्टीले युज एण्ड थ्रो' गरेको अनुभूति भयो,' माओवादी दाङका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्रमा भनिएको छ, 'त्यत्रो सरकार नै परिबर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटिमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूति भएको छ। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु।'
वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन्। तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट उनी प्रदेश सांसदमा निर्वाचित भएकी थिइन्। नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन्।
लुम्बिनीमा शंकर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्। राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन्। लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
यस विषयमा वलीले राजीनामा पत्रमा लेखेकी छिन्, 'ठूला-ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्। तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाइयो। त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन।'