काठमाडौं : ट्राफिक प्रहरीले नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता गरेको छ। यसअघि ५०० रुपैयाँ रहेको जरिवाना शुल्क गत पुस ३ गतेदेखि लागु हुने गरी १ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो।
यसको चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले बढाइएको जरिवाना न्यूनतम ५०० नै कायम गर्न सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार जरिवाना रकम पहिले कै कायम गर्न आइतबार सचिवस्तरीय बैठक बसि निर्णय गरेको थियो। उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको स्रोतले जनाएको छ।
सोही अनुसार ट्राफिक प्रहरीले पनि उक्त शुल्क घटाएको हो। कानुनविपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर तथा व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको बुझिएको छ।
यसै विषयलाई लिएर सोमबार दिनभर यातायात मजदुर तथा व्यवसायीहरुले बालाजु प्रदर्शन गरिरहेको छ। सो क्रममा आन्दोलनकारीहरुले प्रहरीको गाडी समेत जलाएका छन्।