PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

१० दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्काउँछौं : गगन थापा



रमेश पराजुली

१० दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्काउँछौं : गगन थापा

बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुस १० गते निर्माण भएको एमालेसहितको वर्तमान सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन्।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरित बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे।

उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन अगाडि बढ्नु पर्नेमा जोड दिए।  चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाइै नभएपनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भएपनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे।  फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे।

उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने बताए। उनले एमाले अध्यक्ष केपि ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिहंदरवारबाटै सित्तल निवासको लेटर प्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गरे।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे। पार्टीभित्र केहि मतभेद रहे पनि त्यसलाई पार्टीमा बसेर समाधान गर्ने बताए। उनले वर्तमान समयमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि पनि नेपाली कांग्रेस पार्टी लागिपरेको बताउँदै जनतालाई आशावादी हुन आग्रह गरे।  कांग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell