काठमाडौं : बालजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो। काठमाडौं उपत्यकाको ४ वटा गण र एउटा गुल्मबाट गरेर २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
यातायात मजुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखित नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा बन्द गर्ने निर्णय गरेका हुन्।
यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको छ। पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन्। बालाजु चोकदेखि गोङ्गबुसम्म यातायातका साधनहरु बाटोमै तेर्साएर मजदुरहरु विरोधमा उत्रेका हुन्। अहिले अवस्था कन्ट्रोलमा आएको प्रहरीले जानकारी दिएको छ। प्रर्दशनको कारण सर्वसाधरणलाई आवतजावतमा समेत समस्या परेको छ।
आफ्ना मजदुरहरु कुटिएको विषय लगायत अन्य माग राख्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।
ट्राफिक प्रहरीले नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता गरेको छ। यसअघि ५०० रुपैयाँ रहेको जरिवाना शुल्क गत पुस ३ गतेदेखि लागु हुने गरी १ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो।
यसको चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले बढाइएको जरिवाना न्यूनतम ५०० नै कायम गर्न सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार जरिवाना रकम पहिले कै कायम गर्न आइतबार सचिवस्तरीय बैठक बसि निर्णय गरेको थियो। उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको स्रोतले जनाएको छ।