काठमाडौं : यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन्।
विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा संचालनमा ल्याएको थियो। उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन संचालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन्।
सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोंगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय नयाँ बसपार्क र गोंगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरि सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आआफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन्।
यसैबिच सरकारले आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार वार्ताका लागि बोलाएको छ। आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए। यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफल हुने बताइएको छ।