PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै
Photo: CAN

काठमाडौँ: नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया आमनेसामने हुन लागेका हुन्।

खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। 

नेपाल र नामिबिया एकदिवसीय क्रिकेटमा चारपटक आमनेसामने हुँदा नेपालले हालसम्म जित निकाल्न सकेको छैन। नामिबियाले तीन पटक जित निकाल्दा एउटा खेल नतिजाविहीन बनेको छ।

अंकतालिकामा को अगाडि?

सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्ड शीर्ष स्थानमा छ। 'ओडिआई साइकल'मा उसले अब चार खेल खेल्न बाँकी छ। अर्थात यही सिरिजबाट सबै ३६ खेलहरु पूरा गर्नेछ।

अंकतालिकामा ३२ खेलबाट ४६ अंक जोडेर स्कटल्याण्ड शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा ४४ अंक जोडेको ओमन छ। ओमनले सबै ३६ खेल खेलिसकेको छ। नामिबियाले अब ३० खेल खेलेर ३७ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३६ खेल पूरा गरेको अमेरिका ३५ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।

नेपाल भन्दा ठीक अगाडि २६ खेलबाट २७ अंक जोडेको यूएई पाँचौ स्थानमा छ। छैटौ स्थानमा रहेको नेपालले २४ खेलबाट १८ अंक जोडेको छ। नेपालले २४ खेलमा ८ वटामात्र जित निकाल्न सफल भएको छ। १२ खेल बाँकी रहँदा शीर्ष तीनमै पर्न पनि नेपाललाई धौधौ छ। सातौं स्थानमा २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी रहेको छ।

कोको छन् १४ सदस्यीय नेपाली टोलीमा?

१४ सदस्यीय टोलीमा सूर्य तामाङले पहिलो पटक स्थान बनाउँदा भीम सार्की, सुन्दीप जोरा र कुशल मल्लले पुनरागमन गरेका छन्। नियमित सदस्य आरिफ शेख, अर्जुन साउदलगायत प्रतिश जिसी र मौसम ढकाल भने रिजर्भमा छन्।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलसन झा, भीम सार्की, सूर्य तामाङ पनि टिममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell