काठमाडौं: ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान ‘जवान’ को छायाङ्कनमा व्यस्त छन्। दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यस फिल्ममा शाहरुखसँगै नयनतारा मुख्य भूमिकामा छन्।
शाहरुखको पहिलो 'प्यान इन्डिया’ फिल्ममा विजय सेतुपाती पनि प्रमुख भूमिकामा रहनेछन्। यसैबिच, साउथ स्टार अल्लु अर्जुन पनि ‘जवान’ मा केमियो रोलमा देखिने खबर बाहिरिएको छ।
भारतीय मिडियाका अनुसार ‘जवान’ मा अल्लु अर्जुनलाई एक विशेष नृत्य गीतका लागि प्रस्ताव गरिएको छ। यसबारे अल्लु सकारात्मक रहेको समेत बताइएको छ। तर,जवानका निर्माताले भने अहिलेसम्म यसबारेमा कुनै आधिकारिक घोषणा गरेका छैनन्।
रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय छ। गौरी खान निर्माता रहेको फिल्म आगामी जुन २ मा पाँच भाषामा रिलिज हुनेछ।